Online Bible

- Reklamy -

यशैयाको पुस्तक 47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


बेबिलोनको पतन

1 “हे बेबिलोनकी कन्ये छोरी, तल गएर धुलोमा बस्; बेबिलोनीहरूकी छोरी, सिंहासनविना नै भुइँमा बस्। अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।

2 जाँतो लिएर पिठो पिँध्; आफ्नो घुम्टो निकाल्। तेरो फरिया माथि सार्, नाङ्गो जाँघ नछोपी खोलाहरू तर्।

3 तेरो नग्नता उघारिनेछ, र तेरो लाज प्रकट हुनेछ। म बदला लिनेछु; एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।”

4 हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो। उहाँ इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।

5 “बेबिलोनीहरूकी छोरी, चुपचाप बस्, अन्धकारभित्र जा; अब उसो तँलाई राज्यहरूकी रानी भनिनेछैन।

6 म आफ्ना मानिसहरूसित रिसाएको थिएँ, र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ; मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैँले तिनीहरूलाई दया देखाइनस्; वृद्धहरूमाथि पनि तैँले गह्रौँ जुवा लादिदिइस्।

7 तैँले, ‘म सदाको निम्ति अनन्तकी रानी भइरहनेछु’ भनिस्; तर तैँले यी कुराहरू विचार गरिनस्, अथवा के होला भनी ध्यान दिइनस्।

8 “आफ्नो सुरक्षामा आराम गरिरहने र आफूलाई, ‘म नै हुँ, मबाहेक अरू कोही पनि छैन। म कहिल्यै विधवा हुनेछैनँ, न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्‍ने हे विलासी, अब सुन्।

9 यी दुवै कुराहरू, छोराछोरीको वियोग र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ। तेरा धेरै तन्त्रमन्त्रहरू र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्।

10 तैँले आफ्नो दुष्‍टतामाथि भरोसा राखेकी छेस्, र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्। तैँले आफूलाई, ‘म नै हुँ, र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्; तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ।

11 विपत्ति तँमाथि आइपर्नेछ; त्यसलाई तैँले हटाउन जान्‍नेछैनस्। प्रकोप तँमाथि आउनेछ, जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्; तैँले पहिलेबाटै देख्न नसकेको प्रलय तँमाथि अचानक आइपर्नेछ।

12 “तैँले बाल्यकालदेखि परिश्रम गर्दैआएको टुनामुना र तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्। सायद तँ सफल हुनेछेस्, सायद तैँले आतङ्कित पार्न सक्छेस् कि!

13 तैँले सुनेका सबै सल्‍लाहहरूले तँलाई खिन्‍न मात्र पारेको छ! तेरा ज्योतिषीहरू अगि आऊन्; ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्, तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।

14 तिनीहरू निश्‍चय नै ठुटाझैँ हुन्; आगोले तिनीहरूलाई जलाइदिनेछ। तिनीहरूले आफूलाई ज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्। यो कसैलाई न्यानो पार्ने कोइला होइन; न त नजिक बस्‍ने आगो नै हो।

15 तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो— तिनीहरू जोसित तैँले परिश्रम गरिस् र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्। तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्; तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy