Online Bible

- Reklamy -

यशैयाको पुस्तक 46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


बेबिलोनका देवताहरू

1 बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ; तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्। तिनीहरूले लिएर हिँडेका मूर्तिहरू थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्।

2 त्यस भारबाट मुक्त हुन नसकेर तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्; तिनीहरू आफैँ कैदमा गइहाल्छन्।

3 “हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्, इस्राएलका घरानाका बाँचेकाहरू सबै, जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु, र जन्मेको घडीदेखि नै मैले बोकेको छु।

4 तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ; म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ। मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु; म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।

5 “तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ? मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?

6 कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन् र तराजुमा चाँदी जोख्छन्; तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्, र घोप्टेर त्यसलाई पुज्छन्।

7 त्यसलाई काँधमा उठाएर बोक्छन्; अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ। त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन। कसैले त्यसलाई पुकार गर्‍यो भने तापनि त्यसले जवाफ दिन सक्दैन; त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन।

8 “हे बागीहरू हो, यो याद राख, मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख।

9 ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ; किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन; म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन।

10 म अन्तिमका कुराहरू पहिल्यैदेखि नै; र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु। म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ, र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’

11 पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु; मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्यो म गर्नेछु; मैले जे योजना गरेको छु, त्यो म गर्नेछु।

12 हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन; तिमीहरू, जो धार्मिकताबाट टाढा छौ।

13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु; यो टाढा छैन, र मेरो उद्धार ढिलो हुनेछैन। मेरो उद्धार सियोनलाई दिनेछु, मेरो गौरव इस्राएललाई दिनेछु।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy