Online Bible

- Reklamy -

यशैयाको पुस्तक 23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


टायरको विरुद्धमा भविष्यवाणी

1 टायरको विषयमा भविष्यवाणी: हे तर्शीशका जहाज हो, विलाप गर! किनकि टायर नाश भएको छ, र घर वा बन्दरगाहरहित भएको छ। कित्तीम देशबाट, तिनीहरूकहाँ यो वचन आएको छ।

2 हे टापुका मानिसहरू र सीदोनका व्यापारीहरू हो, चुप लाग! तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्।

3 विशाल समुद्रमा शीहोरका अन्‍न आयो; नील नदीको कटनी टायरको कर थियो; अनि त्यो जातिहरूको व्यापार-केन्द्र भएको थियो।

4 हे सीदोन र सामुद्रिक किल्‍ला, लज्जित होओ; किनकि समुद्रले यसो भनेको छ: “न म सुत्केरी वेदनामा परेकी छु, न त मैले बालक जन्माएकी छु; न त मैले छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई पालनपोषण गरेकी छु।”

5 जब इजिप्टमा वचन आउँछ, तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्।

6 तिमीहरू तर्शीशतिर जाओ; हे टापुका मानिसहरू हो, विलाप गर।

7 के तिमीहरूका मनोरञ्जनको सहर यही हो? त्यो पुरानो, अति पुरानो सहर, जसका खुट्टाले त्यसलाई टाढा देशहरूमा गएर बसोबास गर्न लगायो!

8 मुकुटहरू प्रदान गर्ने टायरको विरुद्धमा कसले यो योजना बनायो? जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका व्यापारीहरू संसारमा प्रख्यात छन्!

9 त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो।

10 हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै आफ्नो जमिन जोत्, किनकि अब तँसित कुनै बन्दरगाह रहेन।

11 याहवेहले आफ्नो हात समुद्रमाथि पसार्नुभएको छ, र त्यसका राज्यहरूलाई हल्‍लाउनुभएको छ। उहाँले त्यसको किल्‍ला नष्‍ट होस् भनेर फोनिकेको विषयमा आज्ञा दिनुभएको छ।

12 उहाँले भन्‍नुभयो, “हे सीदोनकी कन्या छोरी, अब तेरा निम्ति खुशी आउनेछैन, तँ श्रापित भइस्! “उठ्, कित्तीम र पश्‍चिमी किनारमा जा; त्यहाँ पनि तैँले विश्राम पाउनेछैनस्।”

13 बेबिलोनीहरूको देशलाई हेर्, यो जाति, जसको अब कुनै मूल्य छैन! अश्शूरहरूले त्यसलाई मरुभूमिका जन्तुहरूको ठाउँ बनाएका छन्; तिनीहरूले आफ्ना घेराबन्दीका धरहराहरू अग्ला बनाए; तिनीहरूले त्यसका किल्‍लाहरू नाङ्गो पारिदिए, र त्यसलाई नष्‍ट गरिदिए।

14 हे तर्शीशका जहाजहरू हो, विलाप गर; तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ!

15 त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ।

16 “हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचमा वरिपरि घुमिहिँड्; सुमधुर वीणा बजा, धेरै गीत गा, र तेरो फेरि स्मरण गरियोस्!”

17 सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: याहवेहले टायरसित व्यवहार गर्नुहुनेछ। त्यो आफ्नो वेश्यावृत्तिको पेशातिर फर्किनेछे, र त्यसले पृथ्वीभरिका राज्यहरूसित आफ्नो व्यापार गर्नेछे।

18 र पनि त्यसको लाभ र त्यसको कमाइ याहवेहको निम्ति छुट्याइनेछ; ती भण्डारमा राखिनेछैनन् अथवा थुपारिनेछैनन्। त्यसका लाभहरू याहवेहको सामु रहनेहरूका निम्ति प्रशस्त भोजन र मसिनो वस्त्रको लागि जानेछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy