यशैयाको पुस्तक 20 - पवित्र बाइबल नेपाली समकालीन संस्करणइजिप्ट र कूश देशको विरुद्धमा भविष्यवाणी 1 अश्शूरका राजा सर्गोनले पठाएका सेनापतिले अश्दोदमा आएर त्यसलाई कब्जा गरे। 2 त्यस बेला याहवेह आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “आफ्नो शरीरबाट भाङ्ग्रा र आफ्ना खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे; तिनी नाङ्गो र खाली खुट्टा यताउता हिँड्न थाले। 3 तब याहवेहले भन्नुभयो, “मेरो सेवक यशैया इजिप्ट र कूश देशको निम्ति एउटा चिन्ह र पाठ स्वरूप तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो; 4 त्यसरी नै अश्शूरका राजाले इजिप्टका कैदीहरू र कूशी निर्वासितहरू, जवान र वृद्धहरूलाई नाङ्गो र खाली खुट्टा, जाँघसमेत देखिने गरी इजिप्टलाई शर्ममा पार्न बन्दी बनाएर लैजानेछ। 5 कूशमा भरोसा राख्नेहरू र इजिप्टमा घमण्ड गर्नेहरू डराउनेछन् र शर्ममा पर्नेछन्। 6 त्यस दिन समुद्रका किनारमा बस्नेहरूले यसो भन्नेछन्; ‘हेर, हामीले जसमाथि भरोसा राखेका थियौँ, अश्शूरका राजाबाट उम्कनलाई सहायता माग्न हामी जसकहाँ भागेका थियौँ, तिनीहरूकै अवस्था यस्तो भएको छ! तब हामी कसरी उम्कौँला?’ ” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.