Online Bible

- Reklamy -

यशैयाको पुस्तक 16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 सेलाबाट सियोनका छोरीहरूको पर्वतमा देशका शासककहाँ सौगातको रूपमा थुमाहरू पठाओ।

2 अर्नोनका जँघारमा सियोनका स्त्रीहरू, गुँडबाट धपाइएर यताउता उडिरहने चराहरूझैँ भएका छन्।

3 मोआबले भन्छ, “हामीलाई सल्‍लाह देओ, एउटा निर्णय लेओ। मध्यदिनमा तिम्रो छाया रातझैँ बनाओ! भगुवाहरूलाई लुकाओ, शरणार्थीहरूलाई धोका नदेओ!

4 मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्‍न देओ; नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।” थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ, र सर्वनाश समाप्‍त हुनेछ; आक्रमणकारी देशबाट लोप हुनेछ।

5 प्रेममा एउटा सिंहासन स्थापित हुनेछ; त्यसमा दावीदको घरानाबाट विश्‍वासयोग्य एक मानिस विराजमान हुनुहुनेछ; उहाँले न्याय गर्दा निष्पक्षतासाथ गर्नुहुनेछ; र धार्मिकतामा काम गर्न ढिलो गर्नुहुनेछ।

6 हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ, त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान, त्यसको अभिमान, घमण्ड र त्यसको धाक; तर त्यसका घमण्डहरू खोक्रा छन्।

7 यसकारण मोआबीहरू विलाप गर्नेछन्; तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। कीर-हरेशेतका किसमिसका निम्ति विलौना र शोक गर।

8 हेश्बोनका खेतहरू र सिब्माका दाखहरू पनि ओइलाउँछन्। जातिहरूका शासकहरूले अति सुन्दर दाखहरू कुल्चेका छन्, जो एक समय याजेरसम्म नै पुगेका थिए; अनि मरुभूमिभरि फैलिएका थिए। तिनीहरूका टुसाहरू फैलिएर समुद्रसम्म पुगेका थिए।

9 यसकारण सिब्माका दाखहरूका निम्ति याजेर रोएझैँ म रुन्छु। हे हेश्बोन, हे एलाले, म तँलाई आँसुले भिजाउँछु! तेरा पाकेको फलहरूका निम्ति निकालिएका आनन्दका चीत्कारहरू चकमन्‍न पारिएका छन्।

10 फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्; दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ; कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन; किनकि मैले हर्षको आवाज समाप्‍त गरिदिएको छु।

11 मेरो हृदयले मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ।

12 मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा, ऊ आफूभित्र खिन्‍न मात्र हुन्छ; आफ्नो पवित्रस्थानमा प्रार्थना गर्न जाँदा, त्यसलाई केही फाइदा हुँदैन।

13 मोआबको विषयमा पहिल्यै भन्‍नुभएको याहवेहको वचन यही हो।

14 तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy