Online Bible

- Reklamy -

यशैयाको पुस्तक 11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


यिशैबाटको हाँगा

1 यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ।

2 याहवेहका आत्मा उहाँमा रहनुहुनेछ; बुद्धि र समझका आत्मा, सल्‍लाह र शक्तिका आत्मा, ज्ञान र याहवेहको भयको आत्मा,

3 र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ। उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन, अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन;

4 तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ; पृथ्वीका गरिबहरूका निम्ति न्यायसित उहाँले निर्णय दिनुहुनेछ। उहाँले पृथ्वीलाई आफ्नो मुखको वचनले प्रहार गर्नुहुनेछ; आफ्ना ओठको सासले उहाँले दुष्‍टलाई मार्नुहुनेछ।

5 धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ; अनि विश्‍वासयोग्यता उहाँको पटुका हुनेछ।

6 ब्वाँसो थुमासँग बस्‍नेछ, र चितुवा बाख्रासित ढल्कनेछ; बाछा र सिंह एकसाथ रहनेछन्; र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।

7 गाई र भालु एकैसाथ चर्नेछन्; तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्किनेछन्; सिंहले गोरुले झैँ पराल खानेछ।

8 दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ; र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।

9 मेरा सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन्, न त नष्‍ट गर्नेछन्; किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको ज्ञानले पृथ्वी भरिनेछ।

10 त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ।

11 त्यस दिन अश्शूर, इजिप्टको तल्‍लो भाग, माथिल्‍लो इजिप्ट, पत्रोस, कूश, एलाम, बेबिलोन, हमात र भुमध्यसागरका टापुहरूबाट उहाँको बाँचेको भागलाई लैजानका निम्ति प्रभुले दोस्रो पल्ट आफ्नो हात पसार्नुहुनेछ।

12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र देशबाट निकालिएका इस्राएलीहरूलाई बटुल्नुहुनेछ; उहाँले पृथ्वीका चारै छेउहरूबाट तितरबितर भएका यहूदाका मानिसहरूलाई भेला गराउनुहुनेछ।

13 एफ्राइमको डाह लोप हुनेछ; अनि यहूदाका शत्रुहरू नाश हुनेछन्; एफ्राइमले यहूदासित डाह गर्नेछैन, र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन।

14 तिनीहरू पलिश्तीको पश्‍चिमी भिरमा झम्टेर जानेछन्; तिनीहरूले एकसाथ पूर्वतिरका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबलाई हराउनेछन्; अनि अम्मोनीहरू तिनीहरूको अधीनमा हुनेछन्।

15 याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ; उहाँले प्रचण्ड बतासले यूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ। मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेर उहाँले त्यसलाई सात वटा खोलामा विभाजित गराइदिनुहुनेछ।

16 इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तै अश्शूरबाट आउने उहाँको बचेको भागका मानिसहरूका निम्ति एउटा राजमार्ग हुनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy