Online Bible

- Reklamy -

हिब्रू 8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


नयाँ करारका प्रधान पुजारी

1 हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ

2 ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।

3 हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो।

4 यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्।

5 तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्‍कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।”

6 वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्‍च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्‍च दर्जाको छ।

7 किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन।

8 तर परमेश्‍वरले मानिसहरूमा दोष भेटेर भन्‍नुभयो: “यस्ता दिनहरू आउनेछन्, प्रभु घोषणा गर्नुहुन्छ, जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु।

9 यो त्यस करारजस्तै हुनेछैन, जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्‍वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ।

10 त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु, प्रभु घोषणा गर्नुहुन्छ। म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु र ती तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।

11 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्‍नेछन्।

12 किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”

13 यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy