Online Bible

- Reklamy -

उत्पत्ति 6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


संसारमा दुष्‍टता

1 जब पृथ्वीमा मानिसहरूको संख्या बढ्न थाल्यो र तिनीहरूका छोरीहरू जन्मिए;

2 तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे।

3 तब याहवेहले भन्‍नुभयो, “मेरो आत्माले सदाको निम्ति मानिससित विवाद गर्नेछैन; किनकि तिनीहरू मरणशील हुन्; त्यसको आयु एक सय बीस वर्ष हुनेछ।”

4 ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू थिए; र त्यसपछि पनि, जब परमेश्‍वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।

5 याहवेहले पृथ्वीमा मानिसहरूको दुष्‍टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्‍टतातिर मात्रै ढल्केको देख्नुभयो।

6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो।

7 यसकारण याहवेहले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।”

8 तर नोआले चाहिँ याहवेहको दृष्‍टिमा अनुग्रह प्राप्‍त गरेका थिए।


नोआ र जलप्रलय

9 नोआ र उनको परिवारको विवरण यही हो: नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्‍वासयोग्ताका साथ परमेश्‍वरसँग रहन्थे।

10 नोआका तीन छोराहरू थिए: शेम, हाम र येपेत।

11 परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको, र हिंसाले भरिएको थियो।

12 परमेश्‍वरले पृथ्वी अति भ्रष्‍ट भएको देख्नुभयो; किनकि पृथ्वीका सबै मानिसहरू आफ्ना चालहरूमा भ्रष्‍ट भएका थिए।

13 यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्‍चय नै तिनीहरू र पृथ्वीलाई नष्‍ट गर्दैछु।

14 यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू।

15 तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अल्गो होस्।

16 त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट खुल्‍ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्‍लो, बीचको र माथिल्‍लो तला भएको बनाउनू।

17 म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्‍ट हुनेछ।

18 तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्‍नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि।

19 तँसित जीवित रहनलाई आफूसितै भाले र पोथी गरेर सबै जीवित प्राणीहरूका एक-एक जोडीलाई जहाजभित्र लैजानू।

20 हरेक प्रकारका चराचुरुङ्गी, हरेक प्रकारका जनावर, र जमिनमा चलहल गर्ने हरेक प्रकारको प्राणीको एक-एक जोडी गरी तँसित जीवित रहनलाई आउनेछन्।

21 तैँले आफ्ना निम्ति र तिनीहरूका निम्ति हरेक प्रकारका खानेकुरा लैजा, र जम्मा पारिराख्।”

22 नोआले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे, हो, उनले त्यो गरे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy