Online Bible

- Reklamy -

उत्पत्ति 46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


याकोब इजिप्टमा गएका

1 यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए।

2 अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!”

3 उहाँले भन्‍नुभयो, “म याहवेह, तेरा पिताका परमेश्‍वर हुँ। इजिप्टमा जानलाई नडरा; किनकि म त्यहाँ तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु।

4 म तँसित इजिप्टमा जानेछु, र म निश्‍चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।”

5 तब याकोबले बेर्शेबा छोडे; अनि इस्राएलका छोराहरूले आफ्ना पिता याकोब र उनीहरूका छोराछोरीहरू, उनीहरूका पत्नीहरूलाई फारोले पठाइदिएका गाडाहरूमा बसाए।

6 यसरी याकोब र उनका सबै सन्तानहरूले आफूसित आफ्ना गाईबस्तु र उनीहरूले कनानमा कमाएका सम्पत्तिहरू लिएर इजिप्टमा गए।

7 याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए।

8 इजिप्टमा जाने इस्राएलका छोराहरू (याकोब र उनका सन्तानहरू) का नामहरू यिनै हुन्: याकोबका जेठा छोरा रूबेन।

9 रूबेनका छोराहरू: हानोक, पल्‍लू, हेस्रोन र कर्मी।

10 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीतर्फको छोरा शौल।

11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी।

12 यहूदाका छोराहरू: एर, ओनान, शेलह, फारेस र जेरह (तर एर र ओनान कनान देशमा नै मरेका थिए)। पेरेसका छोराहरू: हेस्रोन र हामूल।

13 इस्साखारको छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन।

14 जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल।

15 यिनीहरूचाहिँ याकोबका निम्ति लेआले पद्दन-अराममा जन्माएका छोराहरू थिए; यसबाहेक उनकी छोरी दीना पनि थिइन्। उनका छोराछोरीहरू जम्मा तेत्तीस जना थिए।

16 गादका छोराहरू: सेफोन, हाग्गी, शूनी, एसबोन, एरी, अरोदी अनि अरेली।

17 आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह। उनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू: हेबेर र मल्कीएल थिए।

18 लाबानले आफ्नी छोरी लेआलाई दिएकी दासी जिल्पापट्टिका याकोबका छोराछोरीहरू यिनै हुन्; यिनीहरू जम्मा सोह्र जना थिए।

19 याकोबकी पत्नी राहेलका छोराहरू: योसेफ र बेन्यामीन।

20 इजिप्टमा ओनका पुजारी पोतीफेराकी छोरी आसनतद्वारा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए।

21 बेन्यामीनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।

22 राहेलबाट जन्मेका याकोबका छोराहरू यी हुन्; यिनीहरू जम्मा चौध जना थिए।

23 दानका छोरा: हुशीम।

24 नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम।

25 यिनीहरूचाहिँ लाबानले आफ्नी छोरी राहेललाई दिएकी दासी बिल्हापट्टिका याकोबका छोराहरू हुन; यिनीहरू जम्मा सात जना थिए।

26 इजिप्टमा याकोबसित जाने उनका सबै आफ्ना सन्तानमा उनका बुहारीहरूबाहेक, उनीहरू छयसट्ठी जना थिए।

27 इजिप्टमा जन्मेका योसेफका दुई छोराहरू लगायत, इजिप्टमा गएका याकोबका परिवारमा जम्मा सत्तरी जना थिए।

28 अब याकोबले आफू गोशेनमा पुग्न लागेको खबर दिन भनी यहूदालाई आफ्नो अगि योसेफकहाँ पठाए। जब उनीहरू गोशेनको प्रान्तमा आइपुगे;

29 तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे।

30 इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।”

31 तब योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना पिताको घरानालाई भने, “म गएर फारोसित कुरा गर्नेछु, ‘कनान देशमा बसिरहेका मेरा दाजुभाइहरू र मेरा पिताका घराना मकहाँ आएका छन्।

32 यी मानिसहरू गोठालाहरू हुन्, र पशुपालन गर्छन्; अनि उनीहरूले आफ्ना बगाल, बथान र भएभरका सबै कुराहरू लिएर आएका छन्।’

33 जब फारोले तपाईंहरूलाई भित्र बोलाएर ‘तिमीहरूका कामकाज के हो?’ भनी सोध्छन्,

34 तपाईंहरूले भन्‍नुहोस्, ‘हाम्रा पुर्खाहरूले गरेझैँ हामी बाल्यकालदेखि नै पशुपालन गर्दैआएका छौँ।’ तब तपाईंहरूलाई गोशेनको प्रान्तमा बसोबास गर्न दिइनेछ; किनकि इजिप्टियनहरूका नजरमा गोठालाहरू घृणित हुन्।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy