उत्पत्ति 45 - पवित्र बाइबल नेपाली समकालीन संस्करणयोसेफले आफूलाई प्रकट गर्छन् 1 तब योसेफले आफ्ना सबै कर्मचारीहरूको सामु आफैँलाई थाम्न सकेनन्; अनि तिनी “सबै जना मेरो उपस्थितिबाट गइहाल!” भनेर चिच्याए। त्यसैले योसेफले आफ्ना दाजुभाइहरूकहाँ आफैँलाई प्रकट गर्दा तिनीसित अरू कोही थिएनन्। 2 अनि तिनी यति डाँको छोडेर रोए, कि इजिप्टियनहरूले पनि सुने, र फारोका परिवारले यो कुरा थाहा पाए। 3 योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ! के मेरा पिता अझै जीवित हुनुहुन्छ?” तर तिनका दाजुभाइहरूले तिनलाई जवाफ दिनै सकेनन्; किनकि उनीहरू तिनको उपस्थितिमा चकित भएका थिए। 4 त्यसपछि योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो नजिक आउनुहोस्।” जब उनीहरू आए, तब तिनले भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, जसलाई तपाईंहरूले इजिप्टमा बेच्नुभएको थियो! 5 अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो। 6 देशमा दुई वर्षदेखि अनिकाल छाएको छ; अनि अब आउने पाँच वर्षहरूमा जोत्ने र कटनी गर्ने काम हुनेछैन। 7 तर एउटा महान् छुटकाराद्वारा तपाईंहरूका निम्ति पृथ्वीमा एउटा अवशेष जोगाइराख्न र तपाईंहरूका जीवन बचाउनका लागि परमेश्वरले मलाई तपाईंहरूको अगि पठाउनुभयो। 8 “यसर्थ मलाई यहाँ पठाउने तपाईंहरू होइन, तर परमेश्वर हुनुहुन्छ। उहाँले मलाई फारोका बुबासरह, उहाँको सम्पूर्ण घरानाको मालिक र सम्पूर्ण इजिप्टको शासक बनाउनुभयो। 9 अब झट्टै मेरा पिताकहाँ फर्किजानुहोस् र यसो भन्नुहोस्, ‘तपाईंको छोरो योसेफ यसो भन्छ: परमेश्वरले मलाई सम्पूर्ण इजिप्टका मालिक बनाउनुभएको छ। ढिलो नगरी मकहाँ आउनुहोस्। 10 तपाईंहरू, तपाईंका छोराछोरीहरू र तपाईंका नातिनातिनाहरू, तपाईंका पशुहरूका बगाल र बथान, र तपाईंसित भएका सबै गोशेनको प्रान्तमा मेरो छेवैमा बस्नुहुनेछ। 11 त्यहाँ म तपाईंहरूका निम्ति बन्दोबस्त गरिदिनेछु; किनकि पाँच वर्षको अनिकाल आउन बाँकी नै छ। नत्रता तपाईंसहित तपाईंको परिवार सबै बिचल्लीमा पर्नेछन्।’ 12 “हेर्नुहोस्! तपाईंहरूसँग साँच्चै नै म बोल्दैछु भनेर तपाईंहरू आफैँले र मेरो भाइ बेन्यामीनले पनि देखेको छ। 13 मेरा पितालाई इजिप्टमा मलाई दिइएको सम्मानको विषयमा तपाईंहरूले देख्नुभएको प्रत्येक कुराको विषयमा भन्नुहोस्। अनि मेरा पितालाई झट्ट यहाँ ल्याउनुहोस्।” 14 तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले। 15 अनि तिनले सबैलाई म्वाइँ खाए, र उनीहरूसित रोए। त्यसपछि तिनका दाजुहरूले पनि तिनीसित कुराकानी गरे। 16 योसेफका दाजुभाइहरू आएका छन् भन्ने खबर जब फारोको महलमा पुग्यो, तब फारो र तिनका सबै अधिकारीहरू खुशी भए। 17 फारोले योसेफलाई भने, “तिम्रा दाजुभाइहरूलाई यसो गर्नु भन: ‘तिमीहरूका पशुहरूमा भारी लाद, र कनान देशमा फर्क; 18 अनि तिमीहरूका पिता र तिमीहरूका परिवारहरूलाई फर्काएर मकहाँ ल्याओ। म तिमीहरूलाई इजिप्टको सबैभन्दा असल जमिन दिनेछु; र तिमीहरूले यस देशको उत्तम चीजहरू उपभोग गर्न सक्नेछौ।’ 19 “म तिनीहरूलाई यसो गर्नु भन्ने आदेश पनि दिन्छु: ‘तिमीहरूका छोराछोरीहरू, पत्नीहरूका लागि इजिप्टबाट केही गाडाहरू लैजाओ, र तिमीहरूका पितालाई यहाँ लिएर आओ। 20 तिमीहरूका आफ्ना मालसामानको केही चिन्ता नगर; किनकि इजिप्टका सबैभन्दा असल कुराहरू तिमीहरूका हुनेछन्।’ ” 21 यसकारण इस्राएलका छोराहरूले त्यसै गरे। फारोले हुकुम दिएझैँ योसेफले तिनीहरूलाई गाडाहरू दिए, र तिनले यात्रामा तिनीहरूलाई चाहिने कुराहरूको प्रबन्ध गरिदिए। 22 उनीहरू प्रत्येकलाई तिनले नयाँ वस्त्र दिए; तर बेन्यामीनलाई तिनले चाँदीका तीन सय शेकेल र पाँच जोर वस्त्र दिए। 23 अनि तिनले आफ्ना पितालाई यी कुराहरू पठाइदिए: इजिप्टका सबैभन्दा असल कुराहरूले लादिएका दश वटा गधाहरू र अन्न, रोटी र तिनलाई यात्रामा चाहिने अन्य सामग्रीले लादिएका दश वटा गधैनीहरू पठाइदिए। 24 तब तिनले आफ्ना दाजुभाइहरूलाई पठाइदिए; अनि उनीहरू बिदा हुन लाग्दा तिनले उनीहरूलाई भने, “बाटोमा झगडा नगर्नुहोला!” 25 यसरी उनीहरू इजिप्टदेखि हिँडे, र कनान देशमा आफ्ना पिता याकोबकहाँ आए। 26 उनीहरूले तिनलाई भने, “योसेफ अझै जीवित छन्! अनि वास्तवमा तिनी समस्त इजिप्टका शासक हुन्।” यो कुरा सुनेर याकोब स्तब्ध भए; तिनले तिनीहरूका कुरा पत्याएनन्। 27 तर जब योसेफले उनीहरूलाई भनेका सबै कुराहरू तिनलाई बताइदिए र जब तिनले योसेफले तिनलाई यात्राका लागि पठाएका गाडाहरू देखे, तब उनीहरूका पिता याकोबको होस फर्क्यो। 28 इस्राएलले भने, “मेरो छोरो योसेफ अझै जीवित छ भन्ने मलाई विश्वास भयो। म मर्नुभन्दा अगि गएर त्यसलाई भेट्नेछु।” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.