Online Bible

- Reklamy -

उत्पत्ति 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


कयिन र हाबिल

1 आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “याहवेहको सहायताले मैले एक जना मानिसलाई जन्म दिएकी छु।”

2 त्यसपछि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। अब हाबिल भेडाबाख्राका गोठाला भए, र कयिनचाहिँ खेतको काम गर्ने भए।

3 केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए।

4 अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्‍टिले हेर्नुभयो;

5 तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्‍टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो।

6 तब याहवेहले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन उदास छ?

7 तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।”

8 त्यसपछि कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी बाहिर खेतमा जाऔँ।” अनि जब तिनीहरू खेतमा थिए, तब कयिनले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे।

9 तब याहवेहले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “म जान्दिनँ; के म मेरो भाइको गोठालो हुँ र?”

10 याहवेहले भन्‍नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ।

11 अब तँमाथि श्राप परेको छ, र भूमिबाट धपाइएको छस्, त्यस भूमिले तेरो हातबाट तेरो भाइको रगत लिनलाई आफ्नो मुख खोलेको छ।

12 जब तैँले भूमिमा खनजोत गर्छस्, अब उसो त्यसले तेरा लागि अन्‍न उमार्नेछैन। तँ पृथ्वीमा एक बेचैन डुलुवा हुनेछस्।”

13 कयिनले याहवेहलाई भने, “मेरो दण्ड मैले सहनै नसक्ने भयो।

14 आज तपाईंले मलाई यस ठाउँबाट निकाल्नुहुँदैछ; अनि म तपाईंको उपस्थितिबाट लुकाइनेछु; यस पृथ्वीमा म बेचैन डुलुवा हुनेछु; अनि जसले मलाई भेट्टाउँछ, त्यसले मलाई मार्नेछ।”

15 तर याहवेहले तिनलाई भन्‍नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्‍यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो।

16 यसरी कयिन याहवेहको उपस्थितिबाट गयो, र अदनको पूर्वपट्टिको नोद भन्‍ने ठाउँमा बस्‍न लाग्यो।

17 आफ्नी पत्नीसित कयिनको सहवास भयो; अनि तिनी गर्भवती भएर हनोकलाई जन्माइन्। तब कयिनले एउटा सहर बनायो, र त्यस सहरको नाम आफ्नो छोराको नामअनुसार हनोक राख्यो।

18 हनोकबाट इरादको जन्म भयो, र इरादचाहिँ महूयाएलका पिता भए, र महूयाएलचाहिँ मतूशाएलका पिता भए, र मतूशाएलचाहिँ लेमेकका पिता भए।

19 लेमेकले दुईटी स्त्रीहरूसित विवाह गरे; एउटीको नाम आदा र अर्कीको नाम सिल्‍ला थियो।

20 आदाले याबाललाई जन्माइन्; जोचाहिँ पालहरूमा बस्‍नेहरू र पशुपालन गर्नेहरूका पुर्खा थिए।

21 तिनको भाइको नाम यूबाल थियो; जोचाहिँ वीणा र बाँसुरी बजाउनेहरूका पुर्खा थिए।

22 सिल्‍लाको पनि एउटा तूबल-कयिन नामको छोरा भयो, जसले काँसो र फलामका सबै किसिमका औजार बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिईन्।

23 लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्‍ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्‍याउने जवान मानिसलाई मैले मारेको छु।

24 यदि कयिनको साटो सात गुणा हो भने लेमेकको चाहिँ सतहत्तर गुणा हुनेछ।”

25 आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत राखिन्, “कयिनले हाबिललाई मारेपछि परमेश्‍वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।”

26 शेतको पनि एउटा छोरा भयो; अनि तिनले त्यसको नाम एनोश राखे। त्यस बेलादेखि मानिसहरूले याहवेहको नाममा आराधना गर्न थाले।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy