उत्पत्ति 30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब राहेलले आफूले याकोबका निम्ति सन्तान जन्माउन नसकेकी देखिन्, तब तिनले आफ्नी दिदीसित डाह गर्न लागिन्। यसकारण तिनले याकोबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रता म मर्नेछु!” 2 यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्वरको स्थानमा छु र?” 3 तब तिनले भनिन्, “मेरी सेविका बिल्हा यहीँ छ। त्यसकहाँ जानुहोस्, र त्यसले मेरा निम्ति सन्तान जन्माओस्, र त्यसबाट म पनि एउटा परिवार निर्माण गर्न सकूँ।” 4 यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहबास गरे; 5 अनि बिल्हा गर्भवती भई, र याकोबका निम्ति एउटा छोरा जन्माई। 6 तब राहेलले भनिन्, “परमेश्वरले न्याय गर्नुभएको छ; उहाँले मेरो बिन्ती सुन्नुभएको छ; र मलाई एउटा छोरा दिनुभएको छ।” यसकारण तिनले उसको नाम दान राखिन्। 7 राहेलकी सेविका बिल्हा फेरि गर्भवती भई, र त्यसले याकोबका निम्ति दोस्रो छोरा जन्माई। 8 तब राहेलले भनिन्, “मेरी दिदीसित मैले ठूलो सङ्घर्ष गरेकी छु, अब मैले जितेकी छु।” यसकारण तिनले उसको नाम नप्ताली राखिन्। 9 जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सेविका जिल्पालाई लगेर याकोबकी पत्नी हुनका निम्ति दिइन्। 10 लेआकी सेविका जिल्पाले याकोबका निम्ति एउटा छोरा जन्माई। 11 तब लेआले भनिन्, “म कत्ति धन्य भएकी छु!” यसकारण तिनले उसको नाम गाद राखिन्। 12 लेआकी सेविका जिल्पाले याकोबबाट दोस्रो छोरो जन्माई। 13 तब लेआले भनिन्, “म कति प्रसन्न छु! स्त्रीहरूले मलाई सुखी भन्नेछन्।” यसकारण तिनले उसको नाम आशेर राखिन्। 14 गहुँ काट्ने बेला रूबेन खेततिर गएका थिए; अनि तिनले विशाखमूल भेट्टाए, जुन तिनले आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “मलाई तिम्रा छोराले ल्याएका विशाखमूलबाट केही देऊ।” 15 तर लेआले तिनलाई भनिन्, “तैँले मेरो पतिलाई त लगिस्-लगिस्, अब मेरो छोराले ल्याएका विशाखमूल पनि खोस्छेस्?” राहेलले भनिन्, “ठिकै छ, तेरो छोराको विशाखमूलको सट्टामा आज राति उहाँ तँसित सुत्नुहुनेछ।” 16 त्यसकारण जब साँझमा याकोब खेतबाट आए; तब लेआ तिनलाई भेट्न गइन् र भनिन्, “तपाईं आज मसँग रात बिताउनैपर्छ। मेरा छोराले ल्याएका विशाखमूल दिएर मैले तपाईंलाई भाडामा लिएकी छु।” यसकारण याकोबले त्यो रात लेआसँग बिताए। 17 परमेश्वरले लेआको बिन्ती सुन्नुभयो; अनि तिनी गर्भवती भएर याकोबका निम्ति पाँचौँ छोरा जन्माइन्। 18 तब लेआले भनिन्, “मैले मेरी सेविका आफ्नो पतिलाई दिएँ। त्यसैकारण परमेश्वरले मलाई प्रतिफल दिनुभएको छ।” यसकारण तिनले उसको नाम इस्साखार राखिन्। 19 लेआ फेरि गर्भवती भइन्, र याकोबबाट छैटौँ छोरा जन्माइन्। 20 तब लेआले भनिन्, “परमेश्वरले मलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। यस पटक मेरा पतिले मलाई आदर गर्नुहुनेछ; किनकि मैले उहाँका निम्ति छ जना छोरा जन्माएकी छु।” यसकारण तिनले उसको नाम जबूलून राखिन्। 21 केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनको नाम दीना राखिन्। 22 तब परमेश्वरले राहेललाई सम्झनुभयो; उहाँले तिनको बिन्ती सुन्नुभयो, र तिनको कोख खोलिदिनुभयो। 23 तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्वरले मेरो अपमान हटाउनुभएको छ।” 24 तिनले उसको नाम योसेफ राखिन्, र भनिन्, “याहवेहले मलाई अर्को छोरा पनि थपिदेऊन्।” याकोबको बगालको वृद्धि 25 राहेलले योसेफलाई जन्माएको केही समयपछि याकोबले लाबानलाई भने, “अब मलाई बिदा दिनुहोस्, र म आफ्नै देशमा फर्केर जान सकूँ। 26 मलाई मेरा पत्नीहरू र सन्तान लैजान दिनुहोस्; जसका लागि मैले तपाईंको सेवा गरेको छु, अब म जान पाऊँ। मैले तपाईंका लागि कति धेरै सेवा गरेको छु, सो तपाईं जान्नुहुन्छ।” 27 तर लाबानले तिनलाई भने, “यदि मैले तिमीबाट निगाह प्राप्त गरेको छु, भने दया गरी बसिदेऊ; किनकि मैले दिव्य जोखनाद्वारा जानेको छु, कि तिमीद्वारा नै याहवेहले मलाई आशिष् दिनुभएको छ।” 28 तिनले अझ भने, “तिमीलाई थप कति ज्याला चाहिन्छ भन, बरु म त्यो दिउँला।” 29 याकोबले तिनलाई भने, “मैले तपाईंका निम्ति कसरी सेवा गरेको छु, र तपाईंका गाईबस्तुहरू कसरी मेरो रेख-देखमा सप्रेका छन्, सो तपाईं जान्नुहुन्छ। 30 म आउनुभन्दा अगि तपाईंसित थोरै वस्तुभाउ थिए, तर अहिले बढेर धेरै वृद्धि भएको छ; अनि म आएको समयदेखि याहवेहले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मैले आफ्नै परिवारका निम्ति चाहिँ कहिले बन्दोबस्त मिलाऊँ?” 31 अनि तिनले सोधे, “त्यसो भए भन, म तिम्रो लागि के दिऊँ?” याकोबले जवाफ दिए, “मलाई केही दिनुपर्दैन; तर यदि तपाईंले मेरा निम्ति यो एउटा कुरा गर्नुभयो भने म तपाईंको बगाल फेरि चराएर त्यसको हेरचाह गर्नेछु। 32 आज मलाई तपाईंका बगालमा गएर टाटेपाटे, थोप्ले भएका भेडाहरू, प्रत्येक कालो रङ्गको भेडाको पाठा, र प्रत्येक थोप्ले र टाटेपाटे बाख्राहरूलाई बगालबाट अलग गर्न दिनुहोस्। यिनीहरू नै मेरा ज्याला हुनेछन्। 33 अनि जहिले-जहिले तपाईंले मलाई दिनुभएको ज्याला जाँच्नुहुनेछ, भविष्यमा मेरो इमानदारीताले मेरो साक्षी दिनेछ। मसित भएका कुनै पनि टाटेपाटे वा थोप्ले नभएका बाख्रा अथवा कालो रङ्ग नभएको कुनै पनि भेडाको पाठा फेला पर्यो भने ती सबै चोरी गरिएको ठहरिनेछन्।” 34 लाबानले भने, “हुन्छ, तिमीले भनेझैँ होस्।” 35 त्यसै दिन लाबानले धर्के अथवा थोप्ले सबै बोकाहरू, र टाटेपाटे अथवा थोप्ला भएका बाख्रीहरू (जिउमा सेता भएका सबै), र सबै काला रङ्गका भेडाका पाठाहरू अलग गरे, र तिनीहरूलाई याकोबका छोराहरूको जिम्मामा दिए। 36 अनि तिनले याकोबदेखि तीन दिनको यात्राको दूरी बनाएर बसे; अनि याकोबचाहिँ लाबानका बाँकी बगालहरू हेरचाह गर्दै बसे। 37 अनि याकोबले, सल्ला, हाडे-बदाम र चिनारका रूखहरूका भर्खर काटिएका हाँगाहरू लिए; अनि त्यसका बोक्रा ताछेर भित्री सेतो काठ देखिने गरी सेता धर्काहरू बनाए। 38 तब तिनले बोक्रा ताछिएका ती हाँगाहरू सबै पानी पिउने डूँडहरूको छेउमा राखिदिए, ताकि पानी पिउन आउँदा बगालहरूले त्यो देखून्; किनभने त्यहाँ ती बगालहरू मिसिन्थे, 39 बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए। 40 याकोबले बगालका पाठाहरूलाई छुट्याए, तर रहेकोलाई चाहिँ लाबानका धर्के र काला रङ्गका पशुहरूपट्टि फर्काइदिए। यसरी तिनले आफ्ना लागि बेग्लै बगाल बनाए, र तिनीहरूलाई लाबानका पशुहरूसित राखेनन्। 41 जहिले-जहिले बलिया पाठीहरूको मिसिने बेला आउँथ्यो, याकोबले तिनीहरू ती हाँगाहरूको सामु मिसिऊन् भनी ती हाँगाहरूलाई पानीको डुँडमा पशुहरूको सामु राखिदिन्थे, 42 तर ती बगालहरू कमजोर भएमा तिनले तिनीहरूलाई त्यहाँ राख्दैनथे। यसरी कमजोर पशुहरू लाबानकहाँ र बलियाहरूचाहिँ याकोबकहाँ हुनगए। 43 यसरी यी मानिस अति सम्पन्न भए; अनि तिनका ठूला-ठूला बगाल, सेवक-सेविका, ऊँट र गधाहरू भए। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.