Online Bible

- Reklamy -

उत्पत्ति 15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


अब्रामसित याहवेहको करार

1 त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”

2 तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।”

3 अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।”

4 तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।”

5 उहाँले तिनलाई बाहिर लानुभयो र भन्‍नुभयो, “यदि तैँले गन्‍न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”

6 अनि अब्रामले याहवेहमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।

7 उहाँले तिनलाई यो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।”

8 तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?”

9 यसकारण याहवेहले तिनलाई भन्‍नुभयो, “मकहाँ तीन-तीन वर्षको एउटा कोरली, एउटा पाठी र एउटा भेडा, र साथमा एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”

10 अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्।

11 तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए।

12 जब घाम डुब्दै थियो, अब्राम मस्त निद्रामा परे; अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो।

13 तब याहवेहले अब्रामलाई भन्‍नुभयो, “तैँले यो निश्‍चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।

14 तर म तिनीहरूले दास-दासी भएर सेवा गरेको देशलाई दण्ड दिनेछु; अनि पछि तिनीहरू त्यहाँबाट धेरै सम्पत्ति लिएर निस्किआउनेछन्।

15 तर तँचाहिँ शान्तिसित तेरा पुर्खाहरूकहाँ जानेछस्; अनि तँ पूरा बुढेसकालमा गाडिनेछस्।

16 चौथो पुस्तामा तेरा सन्तानहरूहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भइसकेको छैन।”

17 जब घाम अस्तायो र अँध्यारो भयो, र एउटा बलिरहेको आगो भएको धुवाँले भरिएको मकल देखा पर्‍यो, र ती टुक्राहरूका बीचबाट भएर गयो।

18 त्यसै दिन याहवेहले अब्रामसित एउटा करार बाँध्नुभयो र भन्‍नुभयो, “म तेरा सन्तानहरूलाई यो देश दिनेछु, अर्थात् इजिप्टको नदीदेखि महानदी यूफ्रेटिससम्म—

19 जुन केनीहरू, कनज्जीहरू, कदोमोनीहरू,

20 हित्तीहरू, परिज्जीहरू, रपाईहरू,

21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू अनि यबूसीहरूका देशहरू हुन्।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy