उत्पत्ति 14 - पवित्र बाइबल नेपाली समकालीन संस्करणअब्रामले लोतलाई छुटाएका 1 त्यस बेला शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर अनि गोयीमका राजा तिदाल मिलेर, 2 सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर अनि बेलाका राजा (अर्थात् सोअरका) विरुद्धमा लडाइँ गर्न गए। 3 यी पछिल्ला राजाहरू सबै एक भएर सिद्धीमको बेँसीमा (खारा समुद्रको बेँसीमा) भेला भए। 4 तिनीहरू बाह्र वर्षसम्म कदोर्लाओमेरका अधीनमा थिए, तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे। 5 चौधौँ वर्षमा कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूले अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैममा एमीहरू 6 र सेइरको पहाडी देशमा भएका होरीतहरूलाई, मरुभूमितिर भएको एल-पारानसम्म परास्त गरे। 7 त्यसपछि तिनीहरू फर्केर एन-मिशापात (अर्थात् कादेशमा) गए, र तिनीहरूले अमालेकीहरूका सम्पूर्ण देशका साथै हासेसोन-तामारमा बसोबास गर्ने एमोरीहरूलाई पनि पराजित गरे। 8 त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयीमका राजा, र बेला (अर्थात् सोअरका) राजा निस्किगए र सिद्धीमको बेँसीमा 9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल र एल्लासारका राजा अर्योकको विरुद्धमा—अर्थात् पाँचका विरुद्धमा चार राजाहरूले युद्धको मोर्चा बाँधे। 10 अब सिद्धीमको बेँसीचाहिँ अलकत्राको खाल्डाले भरिएको थियो; अनि सदोम र गमोराका राजाहरू भाग्दा कति जना ती खाल्डाहरूमा खसे; अनि बाँकी रहेकाहरूचाहिँ पहाडहरूतिर भागे। 11 ती चार जना राजाहरूले सदोम र गमोराका सबै सामान, र तिनीहरूका सबै खानेकुरा लिएर भागे। 12 तिनीहरूले सदोममा रहेका अब्रामका भतिजा लोत र तिनका सम्पत्ति पनि लिएर गए। 13 त्यहाँबाट उम्केको एउटा व्यक्तिले आएर यो कुरा हिब्रू अब्रामलाई बताइदियो। अब्रामचाहिँ आफूसित वाचामा रहेका एश्कोल र आनेरका भाइ एमोरीका मम्रेका ठूला रूखहरूको छेउमा बसोबास गर्दैथिए। 14 जब अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेका छन् भनी सुने, तब तिनले आफ्नो घरानामा जन्मेका तीन सय अठार जना तालिम प्राप्त मानिसहरूलाई लिए र तिनीहरूलाई दानसम्मै लखेट्दै गए। 15 रातको समयमा अब्रामले तिनीहरूलाई आक्रमण गरेर परास्त गर्नका लागि आफ्ना मानिसहरूलाई विभाजन गरे, र दमस्कसको उत्तरमा भएको होबासम्म लखेटे। 16 तिनले सबै मालसामान फिर्ता ल्याए; अनि स्त्रीहरू र अरू मानिसहरूसहित आफ्ना नातेदार लोत र तिनका सम्पत्तिलाई फर्काइल्याए। 17 अब्रामले कदोर्लाओमेर र तिनलाई साथ दिने अरू राजाहरूलाई जितेर फर्केपछि सदोमका राजा शावेको बेँसीमा (अर्थात् राजाको बेँसीमा) तिनलाई भेट्न आए। 18 तब शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए। 19 अनि तिनले अब्रामलाई यसो भन्दै आशिष् दिए, “सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्ताले अब्रामलाई आशिष् देऊन्। 20 अनि सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए। 21 सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू दिनुहोस्, र सामानहरू तपाईं आफैँ राख्नुहोस्।” 22 तर अब्रामले सदोमका राजालाई भने, “मैले याहवेह सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्तातर्फ आफ्नो हात उचालेर शपथ खाएको छु, 23 कि म तिम्रो केही कुरो पनि ग्रहण गर्नेछैनँ। एउटा डोरी अथवा जुत्ताको फित्तासम्म पनि लिनेछैनँ। तिमीले ‘मैले अब्रामलाई धनी बनाएँ’ भनेर कहिल्यै भन्न पनि सक्नेछैनौ। 24 मेरा मानिसहरूले जे खाएका छन्, त्यो बाहेक म केही पनि ग्रहण गर्नेछैनँ; तर मसित जानेहरू—आनेर, एश्कोल र मम्रेले आ-आफ्ना भाग लिऊन्।” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.