Online Bible

- Reklamy -

प्रस्थान 8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।

2 यदि तैँले तिनीहरूलाई जान दिइनस् भने हेर्, म तेरो सारा देशमा भ्यागुताहरू पठाएर विपत्ति ल्याउनेछु।

3 नील नदी भ्यागुताले भरिनेछ। ती भ्यागुताहरू तेरो महलभित्र, तेरो सुत्ने कोठाभित्र, तेरो खाटमाथि, तेरा अधिकारीहरूका घर-घरमा, तेरा प्रजामाथि, तेरो चुल्हा र पिठो मुछ्ने भाँडाहरूमा उक्लेर आउनेछन्।

4 ती भ्यागुताहरू तँमाथि, तेरा प्रजामाथि र तेरा सबै अधिकारीहरूमाथि पनि आउनेछन्।’ ”

5 तब याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर तपाईंको हात नदी, नाला, पोखरीहरूमाथि पसार्नुहोस्, र इजिप्ट देशमा भ्यागुताहरू उक्लेर आऊन्।’ ”

6 यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए।

7 तर जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यसै गरे; तिनीहरूले पनि इजिप्ट देशमा भ्यागुताहरू ल्याए।

8 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाऊन् भनी याहवेहसित बिन्ती चढाइदेओ, तब म तिम्रा मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउनलाई जान दिनेछु।”

9 मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।”

10 फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।” मोशाले जवाफ दिए, “तपाईंले भन्‍नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्‍वरझैँ अरू कोही छैन भन्‍ने जान्‍न सक्नुहुनेछ।

11 यी भ्यागुताहरूले तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूलाई छोड्नेछन्; तर तिनीहरू नील नदीमा मात्र रहनेछन्।”

12 मोशा र हारून फारोकहाँबाट निस्केर गएपछि मोशाले याहवेहकहाँ उहाँले फारोमाथि ल्याउनुभएका भ्यागुताहरूका निम्ति पुकार गरे।

13 अनि याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो; अनि ती भ्यागुताहरू घर, आँगन र खेतहरूमा नै मरे।

14 तिनीहरूले ती बटुलेर थुप्रो लगाए; र देश नै दुर्गन्धले ढाकियो।

15 तर जब फारोले सबै शान्त भएको देखे, तब तिनले आफ्नो हृदय कठोर पारे, र याहवेहले भन्‍नुभएझैँ मोशा र हारूनका कुरा सुनेनन्।


भुसुनाहरूका विपत्ति

16 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्‍नेछ।”

17 तिनीहरूले त्यसै गरे; जब हारूनले लहुरो उठाएर जमिनका धुलोलाई हिर्काए, तब ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि आए। जमिनको सबै धुलो सारा इजिप्ट देशभरि भुसुनाहरू बने।

18 तर जब ती जादुगरहरूले तिनीहरूका गुप्‍त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्। अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे।

19 ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्‍वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्‍नुभएझैँ कठोर थियो, र तिनले सुन्‍न मानेनन्।


झिँगाहरूको विपत्ति

20 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्।

21 तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ।

22 “ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्‍नेछस्।

23 म मेरा मानिसहरू र तेरा मानिसहरूको बीचमा भिन्‍नता पार्नेछु। यो अलौकिक चिन्ह भोलि हुनेछ।’ ”

24 अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो।

25 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “जाओ, र यस देशभित्रै आफ्ना परमेश्‍वरका निम्ति बलिदान चढाओ।”

26 तर मोशाले भने, “यसो गर्नु उचित नहोला। हामीले याहवेह हाम्रा परमेश्‍वरलाई चढाएको बलिदान इजिप्टियनहरूले घृणा गर्छन्। हामीले तिनीहरूका दृष्‍टिमा घृणित बलिदान चढायौँ भने, के तिनीहरूले हामीलाई ढुङ्गाले हान्‍नेछैनन् र?

27 हामीलाई याहवेह हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तीन दिनको यात्रा गरेर उजाडस्थानमा गएर उहाँका निम्ति बलिदान चढाउनेछौँ।”

28 फारोले भने, “म तिमीहरूलाई उजाडस्थानमा गएर याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनेछु; तर धेरै टाढा नजाओ। अब मेरा निम्ति प्रार्थना गरिदेओ।”

29 मोशाले जवाफ दिए, “म तपाईंबाट जाने बित्तिकै याहवेहसित प्रार्थना गर्नेछु, र भोलि यी सबै झिँगाका हुलहरू तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। तर यी मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउन जान नदिएर फारोले फेरि छलपूर्ण काम नगर्न निश्‍चय गर्नुहोला।”

30 तब मोशा फारोकहाँबाट गए, र याहवेहलाई प्रार्थना चढाए।

31 याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो: ती झिँगाका हुलहरू फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूलाई छोडेर गइहाले; एउटै झिँगा पनि बाँकी रहेन।

32 तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy