Online Bible

- Reklamy -

प्रस्थान 6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब याहवेहले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।”

2 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ।

3 म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्‍वरको रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ।

4 मैले तिनीहरू प्रवासी भई बसेको कनान देश तिनीहरूलाई दिनेछु भनी मेरो करार पनि तिनीहरूसित स्थापित गरेँ।

5 यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु।

6 “यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु।

7 म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ;

8 अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ”

9 तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।

10 तब याहवेहले मोशालाई भन्‍नुभयो,

11 “जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।”

12 तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु।”


मोशा र हारूनको परिवारको वंशावली

13 फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो।

14 तिनीहरूका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनीहरू नै हुन्: इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक र पल्‍लू, हेस्रोन र कर्मी। रूबेनका वंशहरू यिनै हुन्।

15 शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र एउटी कनानी स्त्रीको छोरा, शाऊल। शिमियोनका वंशहरू यिनै हुन्।

16 तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यिनै हुन्: गेर्शोन, कहात र मरारी। (लेवी 137 वर्षसम्म बाँचे।)

17 वंशअनुसार गेर्शोनका छोराहरू यिनै हुन्: लिब्नी र शिमी।

18 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। (कोहात 133 वर्षसम्म बाँचे।)

19 मरारीका छोराहरू: महली र मूशी। तिनीहरूका वंशावलीअनुसार लेवीका परिवारहरू यिनै थिए।

20 अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्। (अम्राम 133 वर्षसम्म बाँचे।)

21 यिसहारका छोराहरू: कोरह, नेपेग र जिक्री।

22 उज्जीएलका छोराहरू: मिशाएल, एलसाफान र सिथ्री।

23 हारूनले अम्मीनादाबकी छोरी र नहशोनकी बहिनी एलिशेबालाई विवाह गरे; अनि तिनले उनको निम्ति नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।

24 कोरहका छोराहरू: अस्सीर, एल्काना र अबिआसाप। यिनीहरू नै कोरहका वंशहरू हुन्।

25 हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एक जनालाई विवाह गरे; र तिनले उनको लागि पीनहासलाई जन्माइन्। लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यिनै हुन्।

26 यी तिनै हारून र मोशा थिए, जसलाई याहवेहले भन्‍नुभयो, “इस्राएलीहरूलाई इजिप्टबाट दल-दल बनाएर बाहिर ल्याउनू।”

27 इजिप्टका राजा फारोसित इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउने विषयमा कुरा गर्नेहरू यी दुई मोशा र हारून नै थिए।


हारून मोशाका वक्ता

28 जब याहवेहले इजिप्टमा मोशासित बोल्नुभयो,

29 अनि उहाँले मोशालाई भन्‍नुभयो, “म नै याहवेह हुँ। मैले तँलाई जे-जे कुरा भन्दछु, ती सबै इजिप्टका राजा फारोलाई भन।”

30 तर मोशाले याहवेहलाई भने, “म बोल्नमा ढिलो छु; फारोले मेरा कुरा किन सुन्थे होला र?”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy