Online Bible

- Reklamy -

प्रस्थान 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


मोशाको निम्ति चिन्हहरू

1 तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्‍वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?”

2 तब याहवेहले तिनलाई भन्‍नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।”

3 याहवेहले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे।

4 तब याहवेहले तिनलाई भन्‍नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो।

5 याहवेहले भन्‍नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्‍वास गरून् भनेर हो।”

6 तब याहवेहले भन्‍नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्‍ठरोग लागेर हिउँझैँ सेतो भयो।

7 उहाँले भन्‍नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो।

8 तब याहवेहले भन्‍नुभयो, “यदि तिनीहरूले तँलाई विश्‍वास गरेनन् अथवा पहिलो अद्‌भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्‍वास गर्लान्।

9 तर यदि तिनीहरूले यी दुई अलौकिक चिन्हहरूमाथि विश्‍वास गरेनन्, अथवा तेरो कुरा सुनेनन् भने नील नदीबाट केही पानी लिएर त्यसलाई ओबानो भूमिमा पोखाई दिनू। तैँले नदीबाट लिएको पानी सुक्खा भूमिमा रगत हुनेछ।”

10 मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”

11 याहवेहले तिनलाई भन्‍नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र?

12 अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्‍नुपर्ने कुरा सिकाउनेछु।”

13 तर मोशाले भने, “हे प्रभु, म तपाईंको दास बिन्ती गर्छु, कृपया अरू कसैलाई पठाउनुहोस्।”

14 तब मोशाप्रति याहवेहको क्रोध दन्कियो, र उहाँले भन्‍नुभयो, “लेवी कुलको हारून तेरो दाजु होइन र? ऊ राम्ररी बोल्न सक्छ भनी म जान्दछु। त्यो तँसित भेट गर्न आइरहेको छ; र तँलाई देखेर उसको हृदय प्रसन्‍न हुनेछ।

15 तँ उसित बोल्नेछस् र उसको मुखमा शब्द हालिदिनेछस्। म तिमीहरू दुवैलाई बोल्न सहायता गर्नेछु, र के गर्नुपर्छ, सो सिकाउनेछु।

16 उसले तेरा निम्ति मानिसहरूसित बोलिदिनेछ, र ऊ तेरो मुखपात्र हुनेछ; अनि तँ उसका निम्ति ईश्‍वरतुल्य हुनेछस्।

17 तर यो लहुरो तेरो हातमा लिनू, र तैँले यसद्वारा अलौकिक चिन्हहरू देखाउनेछस्।”


मोशा इजिप्टमा फर्केका

18 तब मोशा आफ्ना ससुरा यित्रोकहाँ फर्किगएर उनलाई भने, “मेरा आफ्नै दाजुभाइहरू इजिप्टमा कोही जीवितै छन् कि छैनन् भनेर हेर्न मलाई त्यहाँ जान दिनुहोस्।” यित्रोले भने, “शान्तिसित जाऊ।”

19 याहवेहले मोशालाई मिद्यानमा भन्‍नुभएको थियो, “इजिप्टमा फर्केर जा; किनकि तँलाई मार्न चाहनेहरू सबै मरिसके।”

20 यसकारण मोशाले आफ्ना पत्नी र छोराहरू लिएर तिनीहरूलाई गधामाथि चढाए; अनि इजिप्टतिर लागे। अनि तिनले परमेश्‍वरको लहुरो आफ्नो हातमा लिए।

21 याहवेहले मोशालाई भन्‍नुभयो, “जब तँ इजिप्टमा फर्कनेछस्, तब तैँले सबै अद्‌भुत कार्यहरू, जसका लागि मैले तँलाई शक्ति दिएको छु, फारोको सामु देखाउन नभुल्नू। तर म त्यसको हृदय कठोर पारिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन।

22 तब फारोलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: इस्राएल मेरो जेठो छोरा हो,

23 र म तँलाई आदेश दिन्छु, “मेरो छोरालाई जान दे, र त्यसले मेरो आराधना गरोस्।” तर तैँले त्यसलाई जान दिइनस्, यसकारण म तेरो जेठो छोरालाई मार्नेछु।’ ”

24 बाटोको एउटा बास बस्‍ने ठाउँमा याहवेहले मोशालाई भेटेर मार्न खोज्नुभएको थियो।

25 तर सिप्पोराले एउटा ढुङ्गाको चक्‍कु लिएर आफ्नो छोराको खलडी च्वाट्ट काटेर त्यसले मोशाको खुट्टामा छोइदिइन्। तिनले भनिन्, “तपाईं निश्‍चय मेरा निम्ति रगतको दुलहा हुनुहुन्छ।”

26 यसकारण याहवेहले तिनलाई छोडिदिनुभयो। (त्यस बेला तिनले खतनालाई दर्शाउँदै “रगतको दुलहा” भनिन्।)

27 याहवेहले हारूनलाई भन्‍नुभयो, “मोशालाई भेट्न उजाडस्थानमा जा।” यसकारण तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटे, र तिनलाई चुम्बन गरे।

28 तब मोशाले तिनलाई याहवेहले जे भन्‍न पठाउनुभएको थियो, त्यो हरेक वचन, र तिनलाई उहाँले गर्नू भनेर हुकुम गर्नुभएका सबै अलौकिक चिन्हहरूको विषयमा हारूनलाई बताए।

29 मोशा र हारूनले इस्राएलका सबै प्रधानहरूलाई एकै ठाउँमा भेला पारे।

30 अनि हारूनले तिनीहरूलाई याहवेहले मोशालाई भन्‍नुभएका सबै कुराहरू सुनाइदिए। तिनले मानिसहरूका अगि अलौकिक चिन्हहरू पनि देखाए,

31 र इस्राएलीहरूले विश्‍वास गरे। अनि तिनीहरूले जब याहवेहले तिनीहरूप्रति वास्ता राख्नुभएको छ, र उहाँले तिनीहरूको कष्‍ट देख्नुभएको छ भनी सुने, तब तिनीहरूले निहुरेर आराधना गरे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy