Online Bible

- Reklamy -

प्रस्थान 35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


शब्बाथका विधिहरू

1 मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गरेर भने, “याहवेहले तिमीहरूलाई यी कुराहरू पालना गर्न आज्ञा दिनुभएको छ:

2 छ दिनसम्म काम गर्नू, तर सातौँ दिनचाहिँ तिमीहरूका लागि पवित्र दिन, याहवेहका निम्ति शब्बाथ विश्रामदिन हुनेछ। जसले यस दिनमा काम गर्दछ, त्यो मारिनेछ।

3 शब्बाथ दिनमा तिमीहरू कसैको घरमा आगो पनि नबलोस्।”


समागम पालका निम्ति सामग्रीहरू

4 मोशाले इस्राएलका सारा समुदायलाई भने, “याहवेहले गर्नुभएको आज्ञा यही हो:

5 याहवेहका निम्ति भेटी ल्याओ। याहवेहका निम्ति भेटी ल्याउन चाहने हरेकले यी कुराहरू ल्याउनू: “सुन, चाँदी र काँसो;

6 निलो, बैजनी र रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला;

7 भेडाका रातो रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ;

8 बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू;

9 अनि एपोद र छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।

10 “तिमीहरूमध्ये सबै निपूर्ण कारिगरहरू आएर याहवेहले आज्ञा गर्नुभएअनुसार सम्पूर्ण कुराहरू बनाउनुपर्छ:

11 “समागम पाल, पालको छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खाँबाहरू र आधारहरू;

12 डण्डाहरूसहित करारको सन्दुक र पाप समाधान-स्थान;

13 टेबुल, त्यसका डण्डाहरूसहित र त्यसका सबै सामानहरू, र उपस्थितिको रोटी;

14 सरसामानहरूसहित बत्तीको निम्ति सामदान, प्रकाशको निम्ति जैतुनको तेल;

15 धूपको निम्ति वेदी र त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप; समागम पालको प्रवेशद्वारमा लगाइने पर्दा;

16 होमबलिको निम्ति वेदी, काँसोको जाली, त्यसका डण्डाहरू र सबै सामानहरू; काँसोका बाटा त्यसका खुट्टासहित;

17 आँगनका पर्दाहरू त्यसका खाँबाहरू र आधारहरूसमेत, र आँगनको मूलढोकाको निम्ति पर्दा;

18 समागम पाल र आँगनका निम्ति किलाहरू र तिनीहरूका डोरीहरू;

19 पवित्रस्थानमा सेवाका निम्ति बुनिएका पोशाकहरू—पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू, र तिनका छोराहरूका निम्ति पोशाकहरू जब तिनीहरू पुजारी भएर सेवा गर्छन्।”

20 त्यसपछि इस्राएलका सारा समुदाय मोशाको सामुबाट बिदा भए।

21 जसका हृदय उत्साहित भए र दिने इच्छा गरे; तिनीहरूले समागम पाल, त्यसको सेवाको सबै काम र पवित्र पोशाकहरूका निम्ति याहवेहको सामु भेटी ल्याए।

22 इच्छुक हुने हरेक पुरुष र स्त्रीले सबै प्रकारका सुनका गहना ल्याए—पिन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरू हरेकले आफ्ना सुन विशेष भेटीको रूपमा उचालिनको निम्ति याहवेहलाई चढाए।

23 जससँग निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा, बाख्राका भुत्ला, भेडाका रातो रङ्गाएका छाला वा सीलका छालाहरू थिए, ती सबै ल्याए।

24 तिनीहरू, जसले चाँदी वा काँसो दिन सक्थे, तिनीहरूले ती भेटीको रूपमा याहवेहको सामु ल्याए; अनि जससँग सेवाको कामका निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए।

25 सिपले योग्य स्त्रीहरूले आफ्नो हातले तयार पारेका निलो, बैजनी, रातो धागो र मसिनो सुतीका वस्त्र ल्याए।

26 अनि सिपले योग्य र इच्छुक स्त्रीहरूले बाख्राका भुत्ला काते।

27 अगुवाहरूले एपोदमा र छाती-पातामा जड्नका लागि गोमेद पत्थरहरू र अरू रत्नहरू ल्याए।

28 तिनीहरूले बत्तीको निम्ति जैतुनको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति मसला ल्याए।

29 इस्राएलका सबै पुरुष र स्त्रीहरू, जसले याहवेहको निम्ति भेटी चढाउने इच्छा राखे; याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएको सबै कामका निम्ति तिनीहरूले याहवेहकहाँ आफ्नो स्वेच्छा-भेटी ल्याए।


बजलेल र ओहोलीआब

30 तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, याहवेहले यहूदाका कुल, हूरका नाति, ऊरीका छोरा बजलेललाई चुन्‍नुभएको छ;

31 अनि उहाँले तिनलाई आफ्नो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भर्नुभएको छ।

32 उहाँले तिनलाई सुन, चाँदी, काँसोमा कलापूर्ण आकार कोर्ने,

33 कलापूर्ण तरिकाले हरेक प्रकारका पत्थर काटेर जड्ने काम, र काठमा खोप्ने सिप दिनुभएको छ।

34 याहवेहले तिनलाई र दानका कुलका अहीसामाकका छोरा, ओहोलीआबलाई अरूलाई सिकाउन सक्ने क्षमता दिनुभएको छ।

35 उहाँले तिनीहरूलाई हरेक प्रकारका शिल्पकारी, चित्र बनाउने काम, निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने अनि बुन्‍ने कारिगरले जानेका सबै काम गर्ने बुद्धिले भरिपूर्ण पार्नुभएको छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy