Online Bible

- Reklamy -

प्रस्थान 15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


मोशा र मिरियमको गीत

1 तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए: “म याहवेहको निम्ति गाउनेछु; किनकि उहाँ अति नै उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।

2 “याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ; उहाँ मेरा मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु; मेरा पिताका परमेश्‍वर, र म उहाँको नामलाई उच्‍च पार्नेछु।”

3 याहवेह योद्धा हुनुहुन्छ; उहाँको नाम याहवेह हो।

4 फारोका रथहरू र तिनका सेनालाई उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वोत्तम पदाधिकारीहरू लाल समुद्रमा डुबाइएका छन्।

5 गहिरा पानीले तिनीहरूलाई छोपिदिएका छन्; तिनीहरू ढुङ्गाझैँ गहिराइमा डुबेका छन्।

6 हे याहवेह, तपाईंको दाहिने हात, शक्तिमा गौरवशाली थियो। हे याहवेह, तपाईंको दाहिने हातले, शत्रुलाई चकनाचुर पारेको छ।

7 “तपाईंका गौरवको महानतामा तपाईंले विरोधीहरूलाई फ्याँकिदिनुभएको छ। तपाईंले आफ्नो क्रोधको ज्वाला पोख्नुभयो; जसले तिनीहरूलाई परालझैँ भस्म पार्‍यो।

8 तपाईंका नाकको सासको वेगले पानी एक ठाउँमा थुप्रो लाग्यो, तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए; गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो।

9 शत्रुले घमण्ड गर्‍यो, ‘म तिनीहरूलाई खेद्नेछु, म तिनीहरूलाई भेट्नेछु। म लुटिएका सामानहरू बाँड्नेछु; म तिनीहरूलाई निल्नेछु। म आफ्नो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नाश पार्नेछु।’

10 तर तपाईंले आफ्नो सास फुक्नुभयो; र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो। तिनीहरू शक्तिशाली पानीमा सिसाझैँ डुबे।

11 हे याहवेह, देवी-देवताहरूमा तपाईंजस्तो को छ र? पवित्रतामा अति गौरवशाली, महिमामा भययोग्य, र अद्‌भुत कार्यहरू गर्नुहुने अरू को छ र?

12 “तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो; अनि पृथ्वीले हाम्रा शत्रुहरूलाई निलिहाल्यो।

13 तपाईंले आफ्नो अचुक प्रेममा, आफूले छुटाउनुभएका मानिसहरूलाई डोर्‍याउनुहुनेछ। तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ।

14 जातिहरूले सुन्‍नेछन् र काँप्नेछन्; पलिश्तीहरूलाई वेदनाले पक्रनेछ।

15 एदोमका अगुवाहरू भयभीत हुनेछन्; मोआबका शक्तिशाली अगुवाहरू काँप्नेछन्; कनानका सारा मानिसहरू बिलाइजानेछन्;

16 उनीहरूलाई आतङ्क र डरले छोप्नेछ। हे याहवेह, तपाईंका प्रजा पार नहोउन्जेल, तपाईंले किन्‍नुभएका यी प्रजा पार नहोउन्जेल— तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल हुनेछन्।

17 तपाईंले तिनीहरूलाई भित्र ल्याउनुहुनेछ र तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— हे याहवेह, त्यो ठाउँ, जसलाई तपाईंले आफ्नो लागि वासस्थान बनाउनुभएको छ; त्यो समागम पालमा, हे प्रभु, जसलाई तपाईंका हातहरूले स्थापित गर्नुभएको छ।

18 “याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ।”

19 जब फारोका घोडा, रथ र घोडसवारहरू समुद्रभित्र पसे, तब याहवेहले समुद्रको पानी फर्काएर तिनीहरूमाथि ल्याइदिनुभयो; तर इस्राएलीहरू त समुद्रको बीचबाट ओबानो जमिनमाथि हिँडे।

20 तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे।

21 मिरियमले यसरी गीत गाउन थालिन्: “याहवेहका निम्ति गाओ; किनकि उहाँ अति उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवार दुवैलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”


मारा र एलीमको पानी

22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्‍थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे।

23 जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।)

24 यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?”

25 तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो।

26 उहाँले भन्‍नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्‍यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।”

27 त्यसपछि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। तिनीहरूले त्यहीँ पानीको नजिक पाल टाँगे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy