Online Bible

- Reklamy -

प्रस्थान 1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


इजिप्टमा इस्राएलीहरूमाथि अत्याचार

1 याकोबसित आ-आफ्नो परिवारसहित इजिप्टमा जाने इस्राएलका छोराहरूका नाम यिनै हुन्:

2 रूबेन, शिमियोन, लेवी र यहूदा;

3 इस्साखार, जबूलून र बेन्यामीन;

4 दान र नप्‍ताली; गाद र आशेर।

5 याकोबका सन्तति जम्मा सत्तरी जना थिए; योसेफ अगिबाटै इजिप्टमा थिए।

6 त्यसपछि, योसेफ, तिनका दाजुभाइहरू र त्यस पुस्ताका सबै जना मरे।

7 तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो।

8 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।

9 उनले आफ्ना प्रजालाई भने, “हेर, इस्राएलीहरू हामीभन्दा संख्यामा धेरै र बलवान् भएका छन्।

10 अब हामीले तिनीहरूसित बुद्धि पुर्‍याएर व्यवहार गर्नुपर्छ; नत्रता तिनीहरू अझ धेरै हुनेछन्, र यदि युद्ध भइहाल्यो भने तिनीहरू हाम्रा शत्रुहरूसित लागेर हाम्रो विरुद्धमा लडाइँ गरी देशलाई छोडिदिनेछन्।”

11 यसकारण उनीहरूले तिनीहरूलाई जबरजस्ती कामले लदाएर सताउनको लागि तिनीहरूमाथि हाकिमहरू खटाए; अनि उनीहरूले फारोको निम्ति पिताम र रामसेस भन्‍ने भण्डारका सहरहरू बनाए।

12 तर तिनीहरू जति-जति सताइन्थे, उति-उति नै तिनीहरूका संख्या बढ्दै गए, र देशमा फिँजिदै गए। यसकारण इजिप्टियनहरू इस्राएलीहरूसित डराउन थाले।

13 त्यसकारण इजिप्टियनहरूले इस्राएलीहरूलाई कठोरतापूर्वक काममा दलाउन थाले।

14 उनीहरूले तिनीहरूलाई माटो, इँटा र खेतबारीका सबै किसिमका काम र कठोर परिश्रम गर्न लगाएर तिनीहरूको जीवन नै तितो बनाइदिए; इजिप्टियनहरूले तिनीहरूलाई सबै काममा कठोरतापूर्वक लगाए।

15 इजिप्टका राजाले शिप्रा र पुवा नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाएर भने,

16 “जब तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्‍चा जन्माउन मदत गर्छौ, र जन्माएका हेर्छौ, तब त्यो छोरा हो भने त्यसलाई मारिदिनू; तर छोरी हो भने त्यसलाई चाहिँ नमार्नू।”

17 तर ती सुँडेनीहरू परमेश्‍वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्।

18 तब इजिप्टको राजाले ती सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले यस्तो किन गर्‍यौ? तिमीहरूले ती छोराहरूलाई किन जिउँदै छोडिदियौ?”

19 ती सुँडेनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू इजिप्टियन स्त्रीहरूजस्ता छैनन्; तिनीहरू बलिया हुन्छन्; अनि सुँडेनीहरू तिनीहरूकहाँ पुग्नुभन्दा पहिल्यै सजिलैसँग बच्‍चा जन्माइसकेका हुन्छन्।”

20 यसकारण परमेश्‍वर ती सुँडेनीहरूप्रति कृपालु हुनुभयो; अनि ती इस्राएलीहरू संख्यामा बढ्दै गए, र झन् शक्तिशाली भए।

21 ती सुँडेनीहरू परमेश्‍वरसित डराएका हुनाले उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू दिनुभयो।

22 तब फारोले आफ्ना सबै प्रजालाई यसो भन्दै आज्ञा दिए: “जन्मेका हरेक हिब्रू छोरालाई तिमीहरूले नील नदीमा फ्याँकिदिनू, तर प्रत्येक छोरीलाई भने जीवितै छोड्नू।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy