Online Bible

- Reklamy -

उपदेशक 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


परमेश्‍वरप्रति गरिएको प्रतिज्ञालाई पूरा गर्नु

1 परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ।

2 परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर, र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, अनि तिमीचाहिँ पृथ्वीमा छौ; यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!

3 जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।

4 जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर।

5 प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो।

6 तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ?

7 धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान।


धनसम्पत्ति अर्थहीन छन्

8 यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ।

9 जमिनबाट उब्जेका अन्‍न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्‍त गर्दछन्।

10 जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्‍ट हुँदैन; यो पनि अर्थहीन छ।

11 जब धनसम्पत्ति बढ्छ, तब खाने मुखहरू पनि धेरै बढ्छन्। अनि ती आँखाले हेर्नुबाहेक मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?

12 परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।

13 मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,

14 अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको; त्यसका सन्तान भए तापनि त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको।

15 आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, र जस्तो आयो, त्यस्तै फर्किजान्छ। आफ्नो परिश्रमको कमाइबाट केही पनि हातमा लिएर जान सक्दैन।

16 यो पनि एक गम्भीर खराबी हो: मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ; तब त्यसलाई के लाभ भयो र, के त्यसको परिश्रम हावामा नै खेर गएन र?

17 त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ।

18 तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।

19 त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो।

20 आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy