Online Bible

- Reklamy -

व्यवस्था 32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे आकाश, सुन र म बोल्नेछु; हे पृथ्वी, मेरा मुखका वचनहरू सुन।

2 मेरो शिक्षा वर्षाजस्तै झर्नेछ, र मेरा शब्दहरू शीतजस्तै खस्‍नेछ, नयाँ घाँसमा पानीका थोपाझैँ; कलिला बोटबिरुवाहरूमाथि परेको झरीजस्तै।

3 म याहवेहको नामको घोषणा गर्नेछु, अहो! हाम्रा परमेश्‍वरको महानताको प्रशंसा गर!

4 उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्, र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्। उहाँ विश्‍वासयोग्य परमेश्‍वर, जसले भूल गर्नुहुन्‍न; उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ।

5 तिनीहरू भ्रष्‍ट भएका छन् र तिनीहरू उहाँका सन्तान होइनन्; तिनीहरू पतित र भ्रष्‍ट पुस्ता हुन्।

6 हे मूर्ख र निर्बुद्धि मानिसहरू हो, के तिमीहरूले याहवेहलाई गर्ने व्यवहार यही हो? तिमीहरूलाई सृष्‍टि गर्नुहुने र गर्भमा रच्नुहुने, के उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्‍टिकर्ता हुनुहुन्‍न र?

7 ती पुराना दिनहरूलाई सम्झ; धेरै अगिका पुस्ताहरूलाई विचार गर। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई भन्‍नेछन्; तिमीहरूका प्रधानहरूलाई सोध र तिनीहरूले तिमीहरूलाई बताइदिनेछन्।

8 जब सर्वोच्‍चले जातिहरूलाई तिनीहरूका उत्तराधिकार दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इस्राएलका छोराहरूका संख्याअनुसार मानिसहरूका सिमाना तोकिदिनुभयो।

9 किनकि याहवेहको भाग उहाँका मानिसहरू नै हुन्; याकोबचाहिँ उहाँको भागको उत्तराधिकार हो।

10 उहाँले तिनलाई उजाडस्थानमा भेट्टाउनुभयो; बाँझो र गर्जने बतास भएको निर्जन स्थानमा भेट्टाउनुभयो। उहाँले तिनको रक्षा गर्नुभयो र तिनको हेरचाह गर्नुभयो; उहाँले तिनलाई आफ्नै आँखाको नानीलाई झैँ जोगाउनुभयो।

11 चीलले आफ्नो गुँडलाई चलाएझैँ, र आफ्नो बचेरालाई पखेटाले ढाकेझैँ, त्यसले तिनीहरूलाई पक्रनको लागि आफ्ना पखेटा फैलाएझैँ, र तिनीहरूलाई उचाइमा बोकेझैँ।

12 याहवेह आफैँले तिनलाई डोर्‍याउनुभयो; उहाँसँग कुनै पनि विदेशी देवी-देवता थिएन।

13 उहाँले तिनलाई पृथ्वीको अग्लो ठाउँहरूमा सवार गराउनुभयो; र तिनलाई खेतबारीमा उब्जेका फलहरू खुवाउनुभयो। उहाँले तिनलाई पहराबाट निकालेको मह र चट्टाने ठाउँमा उम्रेको जैतुन बोटबाट निकालेको तेलले,

14 बथान र बगालबाटको दही र दूधले, र मोटा थुमाहरू र बाख्राहरूले बाशानका सबैभन्दा असल भेडाहरूले र गहुँका सर्वोत्तम दानाले पालनपोषण गर्नुभयो। तिमीहरूले दाखबाट तयार भएको दाखरस पियौ।

15 यशूरून मोटो भयो, र त्यसले लात हान्यो; भोजनले टन्‍न अघाए, तिनीहरू मोटा र चिल्‍ला भए। तिनीहरूले आफूलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरलाई त्यागे, र तिनीहरूका उद्धारको चट्टानलाई इन्कार गरे।

16 तिनीहरूले उहाँलाई आफ्ना विदेशी देवी-देवताहरूको कारण डाही तुल्याए; र तिनीहरूका घृणित मूर्तिहरूले उहाँलाई रिस उठाए।

17 तिनीहरूले भूतहरूका निम्ति बलिदान चढाए, जो परमेश्‍वर होइनन्; आफूले नचिनेका देवी-देवताहरू, भर्खरै देखा परेका नयाँ देवी-देवताहरू, तिमीहरूका पितापुर्खाहरूले डर नमानेका देवी-देवताहरू।

18 तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले बिरानो तुल्यायौ; तिमीहरूलाई जन्माउने परमेश्‍वरलाई तिमीहरूले बिर्सिदियौ।

19 याहवेहले यो कुरा देख्नुभयो; र तिनीहरूलाई त्यागिदिनुभयो। किनकि उहाँलाई आफ्ना छोराछोरीहरूले रिस उठाएका थिए।

20 उहाँले भन्‍नुभयो, “म आफ्नो मुहार तिनीहरूबाट लुकाउनेछु,” र तिनीहरूको अन्त्य कस्तो हुनेछ म हेर्छु; किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, विश्‍वासघाती सन्तानहरू हुन्।

21 जो ईश्‍वर नै होइन, त्यसैद्वारा तिनीहरूले मलाई डाही तुल्याए र तिनीहरूका व्यर्थको मूर्तिहरूद्वारा मलाई रिस उठाए। म तिनीहरूलाई कमजोर जातिद्वारा डाही तुल्याउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।

22 किनकि मेरो क्रोधद्वारा आगो सल्केको छ। जसद्वारा मृतकहरूको ठाउँ तल पातालसम्मै आगो लगाउनेछ। जसले पृथ्वी र त्यसको उब्जनीलाई भस्म पार्नेछ, अनि पर्वतहरूको जगमा आगो लगाउनेछ।

23 म तिनीहरूमाथि विपत्तिहरू खडा गरिदिनेछु, र मेरो काँडहरू तिनीहरूको विरुद्धमा चलाउनेछु।

24 म तिनीहरूका विरुद्धमा विनाशकारी अनिकाल, भस्म गर्ने महामारी र घातक रूढी पठाउनेछु; तिनीहरू विरुद्ध डरलाग्दो दाह्रा भएका जङ्गली जनावरहरू हमला गर्न पठाउनेछु, र जमिनमा घस्रने विषालु सर्पहरू तिनीहरूलाई मार्न पठाउनेछु।

25 तिनीहरूलाई सडकहरूमा तरवारले निःसन्तान बनाउनेछ; घरहरूमा चाहिँ तिनीहरूका बीचमा आतङ्क फैलिनेछ। जवान पुरुष र स्त्रीहरू नाश हुनेछन्। शिशुहरू र केश फूलेका बुढापाकाहरू पनि नाश हुनेछन्।

26 “मैले भनेँ, म तिनीहरूलाई छरपस्ट पार्नेछु; र मानिस जातिहरूको बीचबाट तिनीहरूको नामनिशानै मेटिदिनेछु।

27 तर म शत्रुको गिल्‍लादेखि डराएँ; कहीँ विरोधीहरूले गलत बुझ्लान् र भन्लान्, ‘हामीले विजय पायौँ; याहवेहले यो सबै गर्नुभएको होइन।’ ”

28 तिनीहरू त विवेक नभएका जाति हुन्। तिनीहरूमा अलिकति पनि अन्तर्दृष्‍टि छैन।

29 यदि तिनीहरू अलिकति मात्र बुद्धिमानी भए त! यो कुरा बुझिदिएको भए, र तिनीहरूको अन्त्य कस्तो हुनेछ, सो बुझ्न सकेको भए!

30 कसरी एक जना मानिसले एक हजारलाई खेद्न सक्ला र? अथवा कसरी दुई जनाले दश हजारसँग युद्ध गर्न सक्ला र? तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचिदिनुभए, तिनीहरूका याहवेहले तिनीहरूलाई नत्याग्नुभए?

31 किनकि हाम्रा शत्रुहरूले सोचेझैँ, तिनीहरूका चट्टान हाम्रो चट्टानजस्तो होइन।

32 तिनीहरूका दाखरस त सदोमको दाखबाट, र गमोराका खेतहरूबाट आउँछ। तिनीहरूका अङ्‌गुरहरू विषले भरिएका, र तिनीहरूका झुप्पाहरू तितोपनाले भरिएका छन्।

33 तिनीहरूका दाखरस सर्पका विष हो, गोमनहरूको घातक विष हो।

34 के मैले यो जोगाएर राखेको छैनँ, र मेरो भण्डारमा छाप लगाएर राखेको छैनँ र?

35 बदला लिने काम मेरो हो; म बदला लिनेछु, ठिक समयमा तिनीहरूका खुट्टा चिप्लनेछ; तिनीहरूको विपत्तिको दिन नजिकै छ, र तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्न लागेको छ।

36 जब याहवेहले आफ्नो जातिको बल घटेको अनि कमारा वा स्वतन्त्र शेष नरहेको देख्नुहुनेछ, तब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ; र आफ्ना सेवकहरूप्रति दया देखाउनुहुनेछ।

37 उहाँले भन्‍नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू तिनीहरूले शरण लिएको चट्टान कहाँ छ,

38 तिनीहरूका बलिदानका बोसोहरू खाने देवी-देवताहरू अनि तिनीहरूका अर्घबलिका मद्य पिउने देवी-देवताहरू कहाँ छन्? तिमीहरूलाई सहायता गर्न तिनीहरू उठून्! तिमीहरूलाई तिनीहरूले शरण देऊन्!

39 “अब हेर, म उही हुँ! मबाहेक अरू कुनै ईश्‍वर छैन। म नै मार्छु, र म नै जीवित पार्छु, मैले नै चोट दिन्छु, र म नै निको पार्छु; अनि मेरो हातबाट कसैले पनि छुटाउन सक्दैन।

40 म आफ्नो हात स्वर्गतिर उठाउँछु, र शपथ खान्छु: म सदाकालका निम्ति जीवित रहन्छु;

41 जब म मेरो चम्किलो तरवारमा धार लगाउँछु, र न्यायको निम्ति मेरो हातले त्यो पक्रन्छ, म मेरो विरोधीहरूसँग बदला लिनेछु; अनि मलाई घृणा गर्नेहरूलाई बदला लिनेछु।

42 म मेरा काँडहरूलाई रगतले मताउनेछु; अनि मेरा तरवारले चाहिँ मासु खानेछ: मारिएका र कैदमा परेकाहरूको रगत, र शत्रुहरूका अगुवाहरूका शिरहरू हुनेछन्।”

43 हे जातिहरू हो, उहाँका मानिसहरूसँग रमाओ! किनकि उहाँले आफ्ना सेवकहरूको रगतको बदला लिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूमाथि बदला लिनुहुनेछ; अनि उहाँले आफ्नो देश र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहुनेछ।

44 मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूले सुन्‍ने गरी यस गीतका सबै वचनहरू सुनाए।

45 जब मोशाले सारा इस्राएलीहरूलाई यी सबै वचनहरू वाचन गरी सुनाए,

46 तब तिनले तिनीहरूलाई भने, “मैले आजको दिन तिमीहरूलाई गम्भीर रूपले घोषणा गरेका यी सबै वचनहरू हृदयमा लिनू; ताकि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्नलाई आज्ञा दिन सक।

47 यी तिमीहरूका निम्ति व्यर्थका वचनहरू होइनन्, तर यी तिमीहरूका जीवन हुन्। यीद्वारा नै तिमीहरूले यर्दन पार गरेर अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू धेरै वर्षसम्म जिउनेछौ।”


नेबो पर्वतमा मोशाको मृत्यु

48 त्यही दिन याहवेहले मोशालाई भन्‍नुभयो,

49 यरीहोको पारिपट्टि मोआब देशमा भएको अबारीमको नेबो पर्वतमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई तिनीहरूका आफ्नै अधिकारको रूपमा दिन लागेको कनान देशलाई हेर्।

50 तँ उक्लेको पर्वतमा तँ मर्नेछस्; र त्यहाँ तेरा मानिसहरूसँग तँ मिल्नेछस्, जसरी होर पर्वतमा तेरा दाजु हारून मरे, र आफ्ना मानिसहरूसँग मिलेका थिए।

51 किनभने तिमीहरू दुवैले जीनको उजाडस्थानमा भएको कादेश मेरीबाको पानीमा इस्राएलीहरूको उपस्थितिमा मप्रति विश्‍वासघात गरेका थियौ; तिमीहरूले इस्राएलीहरूको बीचमा मेरो पवित्रतालाई कायम राखेनौ।

52 यसकारण तैँले टाढैबाट मात्र त्यस देशलाई देख्नेछस्; मैले इस्राएलीहरूलाई दिने देशमा तँ पस्‍न पाउनेछैनस्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy