व्यवस्था 22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यदि तिमीहरूले इस्राएली दाजुभाइको गोरु वा भेडा यताउता लागेको देख्यौ भने त्यसको बेवास्ता नगर। तर त्यसलाई त्यसको मालिककहाँ लगिदेऊ। 2 यदि तिमीहरूका दाजुभाइ तिमीहरूका नजिक बस्दैन वा मालिक को हो भनी तिमीहरूलाई थाहा भएन भने त्यसका मालिक खोज्न नआएसम्म त्यसलाई आफ्नो घरमा ल्याउनू। त्यसपछि त्यसलाई फर्काइदिनू। 3 तिमीहरूले आफ्ना दाजुभाइको गधा वा लुगा वा तिनीहरूले हराएका कुनै पनि थोक भेट्टायौ भने फर्काइदिनू। ती तिमीहरूले बेवास्ता नगर्नू। 4 यदि तिमीहरूले आफ्ना इस्राएली दाजुभाइका गधा वा गोरुलाई बाटोमा लडेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू। त्यस पशुलाई उठाउन त्यसका मालिकलाई सहायता गर्नू। 5 स्त्रीहरूले पुरुषको लुगा नलगाउनू, न त पुरुषले स्त्रीहरूको लुगा लगाउनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले यसो गर्नेहरूलाई घृणा गर्नुहुन्छ। 6 यदि तिमीहरूले बाटोको छेउको रूखमा वा भुइँमा चराको गुँड भेट्टायौ र माउचाहिँ बचेरासँग वा अण्डामा बसिरहेको भेट्यौ भने तिमीहरूले बचेरासँगै त्यस माउलाई नलैजानू। 7 तिमीहरूले बचेरालाई लैजान सक्छौ। तर माउलाई चाहिँ छोडिदिनुपर्छ, ताकि तिमीहरूको भलो होस्, र तिमीहरूको आयु लामो होस्। 8 जब तिमीहरूले नयाँ घर बनाउँछौ, तब घरको छतमा चारैतिर बार लगाउनू। ताकि कोही मानिस छतबाट खसेर मर्यो भने तिमीहरूलाई अपराधको दोष नलागोस्। 9 तिमीहरूको दाखबारीमा दुई किसिमका बिउ नलगाउनू। यदि त्यसो गर्यौ भने बोट मात्र होइन, तर त्यस दाखबारीको फल समेत अशुद्ध हुनेछ। 10 गोरु र गधालाई सँगै नारेर जुवामा नजोत्नू। 11 ऊन र सुती मिलाएर बुनेको कपडा नलगाउनू। 12 तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्काहरू बनाउनू। विवाह सम्बन्धी नियमको उल्लङ्घन 13 यदि कुनै मानिसले पत्नी ल्याएर त्यससँग सुतेपछि त्यसलाई मन पराएन, 14 र पत्नीको निन्दा गरेर त्यसलाई बदनाम गरी यसो भन्यो भने, “मैले यस स्त्रीसँग विवाह गरेँ, तर सुत्दा मैले उसमा कुमारीत्वको प्रमाण पाइनँ,” 15 तब स्त्रीका बुबा र आमाले सहरको मूलढोकामा प्रधानहरूकहाँ त्यो केटी कुमारी नै थिई भन्ने प्रमाण ल्याऊन्। 16 त्यस स्त्रीका बुबाले प्रधानहरूसँग यसो भनोस्, “मैले मेरो छोरीलाई यस मानिससँग विवाह गरिदिएँ, तर यसले छोरीलाई मन पराउँदैन।” 17 अब हेर्नुहोस्, यसले छोरीलाई निन्दापूर्ण दोष लगाउँदै यसो भन्छ, “मैले तपाईंको छोरीमा कुमारीपन पाइनँ। तर मेरी छोरीको कुमारीपनको प्रमाण यहाँ छ।” त्यसपछि केटीका बुबाआमाले सहरका प्रधानहरूका सामु त्यो कपडा देखाऊन्। 18 अनि सहरका प्रधानहरूले त्यस पुरुषलाई लगेर सजाय देऊन्। 19 तिनीहरूले त्यस पुरुषलाई एक सय सेकेल चाँदी जरिमाना गरेर त्यो केटीको बुबालाई देऊन्। किनभने त्यस पुरुषले इस्राएलका कुमारीहरूको नाम बदनाम गरेको छ। त्यो केटी त्यसको पत्नी भएर रहिरहोस्। अनि पुरुषले आफू बाँचुन्जेल त्यो केटीलाई त्याग्न पाउनेछैन। 20 तापनि यदि त्यो दोष साँचो हो, र त्यस केटीको कुमारीपनको कुनै प्रमाण पाइएन भने, 21 त्यस केटीलाई आफ्नो बुबाको घरको ढोकामा ल्याएर त्यसका सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। आफ्नो बुबाको घरमा हुँदै बिग्रिएर त्यसले इस्राएलमा घृणित काम गरेकी छे। यस प्रकारले तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ। 22 यदि कुनै पुरुष अर्को पुरुषको पत्नीसँग सुतिरहेको भेट्टाइयो भने त्यससँग सुत्ने पुरुष र त्यो स्त्री दुवैलाई मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्टता हटाउनुपर्छ। 23 यदि कुनै पुरुष सहरमा कसैसँग मगनी भइसकेकी कन्यालाई भेटेर त्यससँग सुतेको भेट्टाइयो भने, 24 तिमीहरूले ती दुवैलाई त्यस सहरको मूलढोकामा लगेर ढुङ्गाले हानेर मार्नू। यसकारण कि त्यो केटी त्यो सहरमै थिई, र पनि सहायताको लागि चिच्याइन, र त्यस पुरुषले चाहिँ अर्को पुरुषको पत्नीलाई बिगारेको छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्टतालाई हटाउनुपर्छ। 25 तर यदि कुनै पुरुषले गाउँको बाहिर निर्जन ठाउँमा मगनी भएकी केटीलाई भेट्यो र त्यसलाई बलात्कार गर्यो भने बलात्कार गर्ने मानिसलाई मात्र मार्नू। 26 त्यस केटीलाई चाहिँ केही नगर्नू; त्यसले मर्न लायकको कुनै पाप गरेकी छैन। यो मुद्दाचाहिँ कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर त्यसलाई हत्या गरेको जस्तै हो। 27 किनकि त्यस पुरुषले त्यस केटीलाई गाउँको बाहिर बलात्कार गर्यो, र त्यस मगनी भएकी केटी चिच्याउँदा पनि त्यसलाई बचाउने कोही थिएन। 28 यदि कुनै मानिसले मगनी नभएकी कन्यालाई भेटेर त्यसलाई बलात्कार गर्यो र तिनीहरू फेला परे भने, 29 त्यस मानिसले त्यस केटीको बुबालाई पचास सेकेल चाँदी तिर्नुपर्नेछ। त्यसले त्यस केटीलाई विवाह गर्नुपर्छ। किनकि त्यसले उसलाई बलात्कार गरेको छ। त्यसले आफू बाँचुन्जेल उसलाई कहिल्यै त्याग्न पाउनेछैन। 30 कुनै पनि मानिसले आफ्नो बुबाकी पत्नीलाई विवाह नगरोस्। त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गर्नुहुँदैन। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.