व्यवस्था 2 - पवित्र बाइबल नेपाली समकालीन संस्करणउजाडस्थानमा भौँतारी हिँडेका 1 त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ। 2 तब याहवेहले मलाई भन्नुभयो, 3 “तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग। 4 मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू। 5 तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु। 6 तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ” 7 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुभएको छ। यस विशाल उजाडस्थानबाट भएर जाने तिमीहरूका यात्रामा उहाँले तिमीहरूलाई हेरचाह गर्नुभएको छ। यी चालीस वर्षहरूमा याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग रहनुभएको छ। अनि तिमीहरूलाई कुनै पनि कुराको अभाव भएको छैन। 8 यसरी हामीले एसावका सन्तानहरू हाम्रा आफन्तहरूलाई पार गर्यौँ, जो सेइरमा बस्दछन्। एलात र एस्योन-गेबेरबाट माथि पर्ने अराबाको बाटोबाट हामी फर्केर मोआबको उजाडस्थानको बाटोतिर यात्रा गर्यौँ। 9 तब याहवेहले मलाई भन्नुभयो, “मोआबलाई दुःख-कष्ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।” 10 (पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य। 11 अनाकीहरूजस्तै, तिनीहरूलाई पनि रपाईहरू भनिन्थ्यो। तर मोआबीहरूले तिनीहरूलाई एमीहरू भन्ने गर्थे। 12 होरीहरू सेइरमा बस्ने गर्दथे। तर एसावका सन्ततिले तिनीहरूलाई धपाए। याहवेहले अधिकार गर्न दिनुभएको देशका मानिसहरूलाई इस्राएलीहरूले नाश पारेझैँ, तिनीहरूले पनि होरवंशीहरूलाई नाश पारे। अनि तिनीहरूका ठाउँमा बसोबास गरेका थिए।) 13 अनि याहवेहले भन्नुभयो, “अब उठ र जेरेदको बेँसी पार गर।” यसकारण हामीले जेरेद बेँसीलाई पार गर्यौँ। 14 हामीले कादेश-बर्ने छोडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म अठतीस वर्ष बितिसकेको थियो। त्यस बेलासम्म याहवेहले तिनीहरूसँग शपथ खानुभएझैँ लडाइँ गर्न सक्ने सबै मानिसहरू छाउनीमा नाश भइसकेका थिए। 15 तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नाश नहोउन्जेल याहवेहको हात तिनीहरूको विरुद्धमा थियो। 16 जब लडाइँ गर्न सक्ने ती मानिसहरूबाट अन्तिम मानिस मरे, 17 तब याहवेहले मलाई भन्नुभयो, 18 “आज तिमीहरूले मोआबको इलाका भएर आरको जमिन पार गर्नुपर्छ। 19 जब तिमीहरू अम्मोनीकहाँ आउँछौ, तब तिनीहरूलाई दुःख नदिनू, अथवा लडाइँका लागि नउक्साउनू। किनकि म तिमीहरूलाई अम्मोनीहरूको देशको कुनै पनि भाग अधिकार गर्न दिनेछैनँ। मैले अम्मोन देश लोतका सन्ततिलाई अधिकार गर्न दिएको छु।” 20 (त्यो देश पनि रपाईहरूको देश थियो। तिनीहरू त्यहाँ बस्दथे। तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्ने गर्थे। 21 तिनीहरू बलिया, असंख्य र अनाकीहरूजस्तै अग्ला थिए। याहवेहले तिनीहरूलाई अम्मोनीहरूको सामुबाट नष्ट गरिदिनुभयो। अम्मोनीहरूले तिनीहरूलाई धपाए। अनि तिनीहरूको ठाउँमा बसोबास गर्न थाले। 22 याहवेहले एसावका सन्ततिलाई पनि त्यसै गर्नुभयो, जो सेइरमा बस्दथे। उहाँले होरीहरूलाई तिनीहरूको सामुबाट नष्ट गरिदिनुभयो। एदोमीहरूले तिनीहरूलाई धपाइदिए। तिनीहरू आजसम्म त्यहाँ बसेका छन्। 23 अनि गाजा सहरसम्म रहेका टाढाका गाउँहरूमा बस्ने अव्वीहरूलाई चाहिँ कप्तोरबाट आएका कप्तोरीहरूले नाश गरे, र तिनीहरूका ठाउँमा बसोबास गरे।) हेश्बोनका राजा सीहोनको पराजय 24 “अब यात्रा सुरु गर, र अर्नोन बेँसी पार गर। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देशलाई तिमीहरूका हातमा दिएको छु। त्यसलाई अधिकार गर्न सुरु गर, र त्यससँग युद्ध गर। 25 आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।” 26 कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ, 27 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ। 28 तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्, 29 जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।” 30 तर हेश्बोनका राजा सीहोनले हामीलाई त्यस देशबाट भएर जान दिएनन्। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनलाई तिमीहरूको हातमा सुम्पिदिनका लागि तिनको मन कठोर र हृदय अटेरी बनाउनुभएको थियो; जस्तो आज पनि छ। 31 याहवेहले मलाई भन्नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।” 32 जब सीहोन र तिनका सबै सेना यहसाको जमिनमा हामीसँग युद्ध गर्न आए, 33 तब याहवेह हाम्रा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनलाई, तिनका छोराहरू र सारा सेनाहरूसमेत मार्यौँ। 34 त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्ट गर्यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ। 35 तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ। 36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्वरले ती सबै देशहरू हामीलाई दिनुभयो। 37 तर याहवेह हाम्रा परमेश्वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.