Online Bible

- Reklamy -

२ शमूएल 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


सारा इस्राएलमाथि दावीद राजा भएका

1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंको आफ्नै रगत र मासु हौँ।

2 विगतमा शाऊल हामीमाथि राजा हुँदा इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। अनि याहवेहले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ”

3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।

4 दावीद राजा हुँदा तीस वर्षका थिए। तिनले चालीस वर्ष राज्य गरे।

5 तिनले हेब्रोनमा यहूदामाथि साँढे सात वर्षसम्म राज्य गरे, अनि यरूशलेममा सारा इस्राएल र यहूदामाथि तेत्तीस वर्ष राज्य गरे।


यरूशलेममाथि दावीदको विजय

6 राजा दावीद र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न यरूशलेमतिर लागे। यबूसीहरूले दावीदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्‍न। अन्धा र लङ्गडाहरूले नै तपाईंहरूलाई धपाउन सक्नेछन्।” तिनीहरूले सोचेका थिए, “दावीद यहाँ पस्‍न सक्नेछैनन्।”

7 तर पनि दावीदले सियोनको किल्‍ला, अर्थात् दावीदको सहर कब्जा गरे।

8 त्यस दिन दावीदले भने, “यबूसीहरूलाई जित्न चाहने जोसुकै पनि पानीको नाला भएर दावीदका शत्रुहरू ‘लङ्गडा र अन्धाहरूकहाँ’ पुग्नुपर्नेछ। त्यसैकारण तिनीहरू भन्दछन्, ‘अन्धा र लङ्गडा’ महलमा पस्‍न पाउनेछैनन्।”

9 त्यसपछि दावीदले त्यस गढीलाई आफ्नो बासस्थान बनाए। अनि त्यस सहरलाई दावीदको सहर नाम दिए। तिनले सहरको भित्री भागका कौशीका चारैतिरका इलाकालाई बनाए।

10 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो।

11 त्यसपछि टायरका राजा हीरामले देवदारुका काठहरूसँग सिकर्मी र डकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। तिनीहरूले दावीदका निम्ति एउटा महल बनाए।

12 तब याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो।

13 दावीदले हेब्रोन छोडेपछि यरूशलेममा अरू पत्नीहरू र उपपत्नीहरू ल्याए। तिनका अरू छोराछोरी जन्मिए।

14 यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,

15 यिभार, एलीशूअ, नेपेग, याफिया,

16 एलीशामा, एल्यादा र एलीपेलेत।


दावीदले पलिश्तीहरूलाई परास्त गरेका

17 जब दावीद इस्राएलमाथि राजा अभिषिक्त भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर दावीदले यो कुरा सुनेर तल गढीमा शरण लिन गए।

18 तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीमा फैलिएर बसे।

19 यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्‍लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्पिदिनेछु।”

20 यसकारण दावीद बाल-पराजीममा गए, अनि त्यहाँ तिनीहरूलाई परास्त गरे। दावीदले भने, “पानी फुटेर निस्केझैँ याहवेह मेरा शत्रुहरूको विरुद्धमा मेरो सामु बेगसित निस्कनुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।

21 पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडे। अनि दावीद र तिनका मानिसहरूले ती लगे।

22 पलिश्तीहरू फेरि उक्लेर आए। अनि रपाईमको बेँसीमा फैलिएर बसे।

23 यसकारण दावीदले याहवेहसँग सल्‍लाह लिए। अनि उहाँले भन्‍नुभयो, “यस पटक सीधै आक्रमण नगर्; तर लहरे पीपलका रूखहरूका सामु पछिल्तिरबाट तिनीहरूलाई आक्रमण गर्।

24 तैँले लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्‍नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू; किनकि त्यस बेला याहवेह पलिश्ती सेनाहरूलाई प्रहार गर्न तेरो अगि-अगि जानुहुनेछ।”

25 यसकारण याहवेहले भन्‍नुभएझैँ दावीदले गरे। तिनले पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy