Online Bible

- Reklamy -

२ राजा 24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे।

2 याहवेहले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्मोनीहरूलाई आफ्ना सेवक अगमवक्ताहरूद्वारा घोषणा गरिएको याहवेहको वचनअनुसार यहूदालाई नाश गर्न पठाउनुभयो।

3 मनश्शेका पापहरू र तिनले जे जति गरेका थिए, त्यसको कारण आफ्नो उपस्थितिबाट हटाउनलाई निश्‍चय नै याहवेहको आज्ञाअनुसार यी कुराहरू यहूदामाथि घटे।

4 साथै ती पापहरूमा निर्दोष मानिसहरूको रगत पनि बगाइएको थियो। किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरिदिएका थिए, र याहवेहले क्षमा दिने इच्छा गर्नुभएन।

5 यहोयाकीमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूका विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?

6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा यहोयाकीन तिनीपछि राजा भए।

7 इजिप्टका राजा आफ्नो देशबाट फेरि बाहिर निस्केर आएनन्। किनकि बेबिलोनका राजाले तिनका सबै प्रान्तहरू इजिप्टको खोल्सादेखि यूफ्रेटिस नदीसम्मै लगिदिएका थिए।


यहूदाका राजा यहोयाकीन

8 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाम नहूश्ता थियो, जो एल्नातानकी छोरी थिइन्। तिनी यरूशलेमकी थिइन्।

9 तिनले आफ्ना पिताले गरेझैँ याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो, त्यही गरे।

10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरूले यरूशलेमतिर बढेर त्यसलाई घेरा हाले।

11 तब तिनका अधिकृतहरूले त्यसलाई घेरिरहेको बेला नबूकदनेसर आफैँ सहरसम्म आए।

12 यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले तिनको अगि आत्मसमर्पण गरे। बेबिलोनका राजाको शासनको आठौँ वर्षमा तिनले यहोयाकीनलाई कैदी बनाएर लगे।

13 याहवेहले घोषणा गर्नुभएझैँ नबूकदनेसरले याहवेहको मन्दिर र महलबाट सबै खजाना हटाए। इस्राएलका राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति बनाएका सुनका सामानहरू सबै लिएर गए।

14 तिनले सम्पूर्ण यरूशलेमलाई, सबै अधिकृतहरू र योद्धाहरू, सबै दक्ष कारिगरहरू र सिकर्मीहरू गरी जम्मा दश हजार जनालाई देशबाट कैद गरेर लगे। देशका अति गरिब मानिसहरू मात्र छोडिए।

15 नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। तिनले यरूशलेमबाट राजाकी आमा, तिनका पत्नीहरू, तिनका अधिकृतहरू र देशका शक्तिशाली मानिसहरूलाई पनि बेबिलोनमा लगे।

16 बेबिलोनका राजाले बलिया र युद्ध गर्न सक्ने सात हजार लडाकु मानिसहरूको दल र एक हजार दक्ष कामदार र शिल्पकारहरूलाई पनि बेबिलोनमा कैद गरेर लगे।

17 तिनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा तुल्याए, र तिनको नाम बदलेर सिदकियाह राखिदिए।


यहूदाका राजा सिदकियाह

18 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्।

19 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।

20 याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy