२ कोरिन्थी 13 - पवित्र बाइबल नेपाली समकालीन संस्करणअन्तिम चेतावनीहरू 1 तिमीहरूसित अब यो मेरो तेस्रो पल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।” 2 म तिमीहरूसित दोस्रो पल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ। 3 ख्रीष्ट मद्वारा बोलिरहनुभएको छ भन्ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। 4 निश्चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्वरको शक्तिमा उहाँसित जिउँछौँ। 5 विश्वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्वासको जाँचमा असफल भयौ। 6 अनि म विश्वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्नेछौ। 7 अब हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो। 8 हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ। 9 जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्ने हो। 10 त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो। अन्तिम अभिवादनहरू 11 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ। 12 ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। 13 यहाँ भएका सबै परमेश्वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। 14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.