Online Bible

- Reklamy -

२ इतिहास 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


मन्दिरको सजावट

1 तिनले बीस क्यूबिट लामो, बीस क्यूबिट चौडा र दश क्यूबिट अग्लो एउटा काँसाको वेदी बनाए।

2 तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट थियो।

3 किनारको मुन्तिर एक क्यूबिटमा दश वटा गरी चारैतिर गोरुहरूका आकृतिहरू थिए। ती गोरुहरू खड्कुँलोसितै दुई लहरहरूमा ढालिएका थिए।

4 त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। अनि तिनीहरूको पछिल्‍लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो।

5 त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा तीन हजार बाथ अटाउँथ्यो।

6 तिनले धुनका निम्ति दश वटा धुने भाँडाहरू बनाए; अनि पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू पखाल्थे; तर खड्कुँलोचाहिँ पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे।

7 तिनले तिनीहरूका नमुनाअनुसार दश वटा सुनका सामदानहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे।

8 तिनले दश वटा टेबुलहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे। तिनले एक सय वटा छर्कने कचौराहरू पनि बनाए।

9 तिनले पुजारीहरूको निम्ति चोक, ठूलो चोक र चोकको निम्ति ढोकाहरू बनाए; अनि ढोकाहरूलाई काँसाले मोहोरे।

10 तिनले खड्कुँलोलाई मन्दिरको दक्षिणपट्टि दक्षिण-पूर्व कुनामा राखे।

11 तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। यसरी हूरामले परमेश्‍वरको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले लिएका कामहरू गरेर सिद्ध्याए:

12 दुई स्तम्भहरू; र ती स्तम्भहरूका टुप्पामा बाटाजस्तै आकारका दुई वटा स्तम्भ-शिरहरू; स्तम्भहरूका टुप्पामाथि कचौरा आकारका दुई वटा स्तम्भ-शिरहरूलाई सिँगार्ने दुई वटा जालीहरू;

13 दुई जालीहरूका निम्ति चार सय दारिमहरू (खम्बाहरूका टुप्पामाथि भएका बाटा आकारका स्तम्भ-शिरलाई सिँगार्ने प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू);

14 गाडाहरूसहित तिनीहरूका बाटाहरू;

15 खड्कुँलो र त्यस मुनिका बाह्र वटा साँढेहरू;

16 भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र सम्बन्धित सबै सामानहरू। राजा सोलोमनलाई हूराम-अब्बीले याहवेहको मन्दिरका निम्ति बनाइदिएका सबै चीजहरू टल्काइएका काँसाका थिए।

17 राजाले तिनीहरूलाई सुक्‍कोत र सार्तानको बीचको यर्दन मैदानमा माटोको साँचोमा ढाल्न लाए।

18 सोलोमनले बनाएका यी सबै कुराहरू यति धेरै थिए, कि काँसाको तौल हिसाब गर्नै नसकिने थियो।

19 सोलोमनले परमेश्‍वरको मन्दिरमा भएका यी सबै सजावटका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने टेबुलहरू;

20 तोकिएअनुसार भित्री पवित्रस्थानको सामु बाल्नलाई बत्तीहरूसहित निखुर सुनका सामदानहरू;

21 सुनका फूलका कामहरू, बत्तीहरू र चिम्टाहरू (तिनीहरू ठोस सुनका थिए);

22 निखुर सुनका सलेदोका चिम्टाहरू, छर्कने कचौराहरू, भाँडाकुँडाहरू र धूपदानीहरू; अनि मन्दिरको सुनको ढोकाहरू: महा-पवित्रस्थानमा पस्‍ने भित्री ढोकाहरू र मुख्य सभा-कक्षका ढोकाहरू।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy