Online Bible

- Reklamy -

२ इतिहास 27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


यहूदाका राजा योताम

1 योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्।

2 तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे।

3 योतामले याहवेहको भवनको माथिल्‍लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे।

4 तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्‍लाहरू र धरहराहरू बनाए।

5 योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट चाँदी, दश हजार कोर गहुँ र दश हजार कोर जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए।

6 याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए।

7 योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।

8 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे।

9 योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy