Online Bible

- Reklamy -

२ इतिहास 15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


आसाको सुधार

1 परमेश्‍वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो।

2 तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, “हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।

3 धेरै दिनसम्म इस्राएल सत्य परमेश्‍वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो।

4 तर जब तिनीहरू आफ्नो सङ्कष्‍टमा याहवेह, इस्राएलका परमेश्‍वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो।

5 ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए।

6 परमेश्‍वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो।

7 तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।”

8 आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।

9 त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए।

10 तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए।

11 त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए।

12 तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोजी गर्न भनी करार बाँधे।

13 याहवेह, इस्राएलका परमेश्‍वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो।

14 तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए।

15 तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्‍वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।

16 राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।

17 तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।

18 तिनले परमेश्‍वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।

19 आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy