१ तिमोथी 1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हाम्रा उद्धारकर्ता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञाअनुसार ख्रीष्ट येशूको प्रेरित पावलबाट, 2 विश्वासमा मेरो साँचो छोरा तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति! व्यवस्थाका झूटा शिक्षकहरूका विरुद्धमा चेतावनी 3 म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ। 4 तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदेऊन्। यस्ता कुराहरूले विश्वासद्वारा हुने परमेश्वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ। 5 यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ। 6 कति जना यी सबैबाट तर्किगएर अर्थविनाका कुराहरूतिर लागेका छन्। 7 तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्। 8 हामी जान्दछौँ, कसैले व्यवस्थालाई ठिकसित प्रयोग गर्छ भने यो असल छ। 9 हामी यो पनि जान्दछौँ, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उल्लङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति, 10 अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति हो। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो। 11 अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ। पावललाई परमेश्वरको अनुग्रह 12 म हाम्रा प्रभु ख्रीष्ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्वासयोग्य ठान्नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो। 13 यद्यपि विगतमा म ईश्वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्वासमा गरेको थिएँ। 14 ख्रीष्ट येशूमा भएका विश्वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो। 15 यो भनाइ विश्वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। ती पापीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ। 16 उहाँमाथि विश्वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो। 17 अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन। तिमोथीलाई आज्ञा 18 हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एक पल्ट बोलिएका ती अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक। 19 विश्वास र असल विवेक समातिराख। कतिले यी कुराहरू त्यागेर आफ्ना विश्वासको जहाज डुबाएका छन्। 20 तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्वरनिन्दा नगर्न सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.