Online Bible

- Reklamy -

१ थेसलोनिकी 3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण जब हामी सहन नसक्ने भयौँ, तब एथेन्समै बस्‍ने निर्णय गर्‍यौँ।

2 हामीले तिमोथीलाई पठायौँ, जो हाम्रा भाइ र परमेश्‍वरको सेवामा ख्रीष्‍टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्‍वास बलियो बनाउन र उत्साह दिनलाई पठायौँ,

3 ताकि यी कष्‍टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौँ।

4 वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौँ भनेर हामीले तिमीहरूलाई भनेका थियौँ। अनि हामीले जे भनेका थियौँ, त्यही नै भयो भन्‍ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ।

5 यसकारण तिमीहरूको बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्‍ने डरले तिमीहरूको विश्‍वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ।


तिमोथीको उत्साहजनक खबर

6 तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्‍वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैँ हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौँ; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्ने उत्कट इच्छा राखेका छौ भन्‍ने खबर तिनले दिएका छन्।

7 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ।

8 तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ।

9 तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्‍वरलाई कसरी पर्याप्‍त रूपमा धन्यवाद चढाउन सक्छौँ र?

10 हामीले तिमीहरूलाई फेरि भेट्न सकौँ र तिमीहरूका विश्‍वासमा कमी भएको कुरा पूरा गर्न सकौँ भनेर हामीले उत्सुकताका साथ रातदिन प्रार्थना गरिरहेका छौँ।

11 हाम्रा परमेश्‍वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदेऊन्।

12 जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्।

13 हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्‍वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy