Online Bible

- Reklamy -

१ शमूएल 28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ती दिनहरूमा पलिश्तीहरूले इस्राएलीहरूसँग लडाइँ गर्नका निम्ति आफ्ना सेनाहरू भेला गरे। तब आकीशले दावीदलाई भने, “तिमी र तिम्रा मानिसहरू मेरो सेनाको साथमा हुनुपर्छ भन्‍ने कुरा तिमीलाई थाहा होस्।”

2 दावीदले भने, “त्यसो भए तपाईंको सेवकले के-के गर्न सक्छ, सो तपाईं आफैँले देख्नुहुनेछ।” आकीशले जवाफ दिए, “अति उत्तम! म तिमीलाई जीवनभरिको लागि मेरो अङ्गरक्षक बनाउनेछु।”


शाऊल र एन्दोरकी तन्त्रमन्त्र गर्ने स्त्री

3 अब शमूएल मरिसकेका थिए। सारा इस्राएलले तिनको निम्ति शोक गरेर तिनलाई तिनको आफ्नै सहर रामामा गाडेका थिए। शाऊलले तन्त्रमन्त्र गर्ने र भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिदिएका थिए।

4 पलिश्तीहरू भेला भएर तिनीहरूले शूनेममा छाउनी हाले, र शाऊलले चाहिँ सारा इस्राएलीहरूलाई भेला गरेर गिल्बो पर्वतमा छाउनी हाले।

5 जब शाऊलले पलिश्ती सेनालाई देखे, तब तिनी डराए; तिनको हृदय त्रासले भरियो।

6 तिनले याहवेहसँग सल्‍लाह लिए, तर याहवेहले तिनलाई जवाफ दिनुभएन, न त सपनाद्वारा, न ऊरीमद्वारा, न अगमवक्ताहरूद्वारा नै दिनुभयो।

7 तब शाऊलले आफ्ना सेवकहरूलाई भने, “मेरा निम्ति एक जना तन्त्रमन्त्र गर्ने स्त्री खोजिदेओ, ताकि म गएर उसबाट सल्‍लाह लिन सकूँ।” तिनीहरूले भने, “यस्तै तन्त्रमन्त्र गर्ने एउटी स्त्री एन्दोरमा छे।”

8 यसकारण शाऊलले अर्कै कपडा लगाएर आफ्नो भेष बदले। तिनी र दुई जना मानिसहरू राति त्यस स्त्रीकहाँ गए। तब शाऊलले भने, “मेरा निम्ति आत्मासँग सोधपुछ गरिदेऊ। मैले भनेको व्यक्ति, जसको नाम म तिमीलाई भन्छु, उसैका आत्मालाई मेरा निम्ति जगाइदेऊ।”

9 तर त्यस स्त्रीले जवाफ दिई, “शाऊलले के गरेका छन्, त्यो कुरा तपाईंलाई निश्‍चय नै थाहा छ होला। तिनले देशमा तन्त्रमन्त्र गर्नेहरूलाई हटाएका छन्। तपाईंले किन मेरो जीवनका निम्ति मृत्युको पासो थाप्नुहुन्छ?”

10 तब शाऊलले याहवेहको नाममा शपथ खाएर त्यसलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै तिमीले कुनै दण्ड पाउनेछैनौ।”

11 तब त्यस स्त्रीले सोधी, “तपाईंका निम्ति म कसलाई बोलाइदिऊँ?” तिनले भने, “शमूएललाई बोलाइदेऊ।”

12 जब त्यस स्त्रीले शमूएललाई देखी, तब चिच्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन छल्नुभयो? तपाईं नै पो शाऊल हुनुहुँदोरहेछ!”

13 तब राजाले त्यसलाई भने, “नडराऊ! तिमीले के देख्यौ?” त्यस स्त्रीले भनी, “म एउटा भूतजस्तो आकृतिलाई जमिनबाट निस्केर माथि आइरहेको देख्दैछु।”

14 तिनले सोधे, “त्यो केजस्तो देखिँदैछ?” त्यसले भनी, “खास्टो ओढेका एक जना वृद्ध मानिस माथि आउँदैछन्।” तब ती शमूएल रहेछन् भनी शाऊललाई थाहा भयो। तिनी आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर दण्डवत् गर्दै लम्पसार परे।

15 तब शमूएलले शाऊललाई भने, “तिमीले मलाई माथि बोलाएर किन मेरो शान्ति भङ्ग गर्‍यौ?” शाऊलले शमूएललाई भने, “म ठूलो सङ्कष्‍टमा छु। पलिश्तीहरूले मेरो विरुद्धमा लडाइँ गरिरहेका छन्। परमेश्‍वर मदेखि टाढा हुनुभएको छ। उहाँले मलाई अगमवक्ताद्वारा र सपनाद्वारा जवाफ दिन छोड्नुभएको छ। यसकारण मैले के गर्नुपर्छ, सो कुरा मलाई भनिदिनुहोस् भनी तपाईंलाई बोलाएको हुँ।”

16 तब शमूएलले भने, “याहवेहले तिमीलाई छोडिसक्नुभएको छ, र तिम्रो शत्रुसमान हुनुभएको छ; तब तिमी किन मलाई सोधपुछ गर्छौ?

17 याहवेहले मद्वारा जे भविष्यवाणी गर्नुभएको थियो, उहाँले त्यही गर्नुभएको छ। याहवेहले तिम्रो हातबाट राज्यलाई टुक्राएर त्यसलाई तिम्रो छिमेकी दावीदलाई दिइसक्नुभएको छ।

18 तिमीले याहवेहको आज्ञापालन गरेनौ, न त अमालेकीहरूको विरुद्धमा उहाँको भयङ्ककर क्रोध खन्यायौ। यसकारण आजको दिन यो कुरा याहवेहले तिमीसित गर्नुभएको हो।

19 याहवेहले तिमी र इस्राएल दुवैलाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि भोलि तिमी र तिम्रा छोराहरू यहाँ मसँग हुनेछौ। याहवेहले इस्राएलका सेनाहरूलाई पनि पलिश्तीहरूको हातमा सुम्पिदिनुहुनेछ।”

20 यो सुन्‍नेबित्तिकै शाऊल डरले तुरुन्तै भुइँमा लम्पसार परे, र तिनी निर्बल भए; किनकि तिनले त्यस दिनभरि र रातभरि केही खानेकुरा खाएका थिएनन्।

21 त्यस स्त्रीले शाऊललाई जोरसँग काँपिरहेका देखेर यसो भनी, “हेर्नुहोस्, तपाईंकी सेविकाले तपाईंको आज्ञापालन गरेकी छे। मैले आफ्नो प्राण आफ्नो हत्केलामा राखेर तपाईंले मलाई जे गर्नु भन्‍नुभयो, त्यही गरेको छु।

22 अब तपाईंको सेविकाको कुरा सुन्‍नुहोस्, र मलाई तपाईंका सामु केही भोजन राख्न अनुमति दिनुहोस्। तपाईंले त्यसलाई खानुहोस् र आफ्नो यात्राका निम्ति बल प्राप्‍त गर्नुहोस्।”

23 तर शाऊलले अस्वीकार गरेर भने, “म खानेछैनँ।” तर तिनका मानिसहरूले ती स्त्रीसित मिलेर तिनलाई बिन्ती गरे। अनि तिनले तिनीहरूका कुरा सुनेर भुइँबाट उठेर पलङमाथि बसे।

24 त्यस स्त्रीको घरमा एउटा पोस्याएको बाछा थियो। त्यसले त्यसलाई तुरुन्तै मारी। त्यसले केही पिठो लिएर त्यो मुछी र त्यसबाट खमिर नहालेको रोटी पकाई।

25 त्यसपछि त्यसले त्यो शाऊल र तिनका मानिसहरूको सामु ल्याई। अनि तिनीहरूले खाए। त्यही रात तिनीहरू बिदा भए।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy