१ शमूएल 22 - पवित्र बाइबल नेपाली समकालीन संस्करणदावीद अदुल्लाम र मिस्पामा गएका 1 दावीद गातबाट भागे, र अदुल्लामको ओडारमा लुकेर बसे। जब दावीदका दाजुहरू र तिनका पिताका घरानाले यस बारेमा सुने, तब तिनीहरू तिनीकहाँ गए। 2 दुःख-कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू सबै दावीदको चारैतिर भेला भए। तिनीहरू लगभग चार सय जति थिए। दावीद तिनीहरूका अगुवा भए। 3 अनि दावीद त्यहाँबाट मोआबको मिस्पामा गए, र मोआबका राजालाई भने, “परमेश्वरले मेरा निम्ति के गर्नुहुनेछ भनी मैले नजानेसम्म तपाईंले मेरा बुबाआमालाई तपाईंकहाँ आएर बस्न दिनुहोस्।” 4 यसकारण दावीदले तिनीहरूलाई मोआबका राजासँग छोडी राखे; अनि दावीद आफ्नो ओडारको किल्लामा रहुन्जेल तिनीहरू मोआबमा नै बसे। 5 तर अगमवक्ता गादले दावीदलाई भने, “यस किल्लामा नबस्नुहोस्। यहूदाको देशमा जानुहोस्!” यसकारण दावीदले ओडार छोडेर हेरेतको जङ्गलमा गए। शाऊलले नोबका पुजारीहरूलाई मारेका 6 तब दावीद र तिनका मानिसहरू देखा परेको खबर शाऊलले सुने। शाऊलचाहिँ आफ्नो हातमा भाला लिएर गेबाको डाँडामा झ्याउको बोटको छहारीमा बसिरहेका थिए। तिनका अधिकृतहरू चारैतिर उभिएका थिए। 7 शाऊलले तिनीहरूलाई भने, “सुन, हे बेन्यामीनका मानिसहरू हो! के यिशैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्छ? के त्यसले तिमीहरूलाई हजार-हजारमाथि र सय-सयमाथिका फौजका सेनापति बनाउनेछ भनी तिमीहरू सोच्दछौ? 8 के यसैकारण तिमीहरूले मेरो विरुद्धमा षड्यन्त्र गरेका हौ? मेरो छोराले यिशैको छोरासँग बाचा बाँधेको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ। तिमीहरूमध्ये कसैले पनि मेरो वास्ता गर्दैनौ, अथवा मेरो छोराले आज गरेझैँ, मेरो सेवकलाई मलाई ढुकेर बस्न उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ।” 9 तर शाऊलका अधिकृतहरूको छेउमा उभिरहेका एदोमी दोएगले भने, “मैले यिशैको छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको देखेँ। 10 अहीमेलेकले याहवेहसँग तिनका निम्ति सोधपुछ गरे; तब तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दावीदलाई दिए।” 11 तब शाऊल राजाले अहीतूबका छोरा पुजारी अहीमेलेक र नोबमा पुजारी भएर बसेका तिनका पिताका सबै परिवारलाई बोलाउन पठाए; अनि तिनीहरू सबै राजा शाऊलकहाँ आए। 12 शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तिनले जवाफ दिए, “हजुर, मेरो मालिक।” 13 शाऊलले अहीमेलेकलाई भने, “तिमीले किन मेरो विरुद्धमा षड्यन्त्र रच्दछौ? तिमीले यिशैको छोरालाई खानेकुरा र तरवार पनि दियौ; अनि त्यसको पक्षमा परमेश्वरसँग सल्लाह लियौ। त्यसैले त्यो मेरो विरुद्धमा खडा भएको छ, आजसम्म पनि मलाई ढुकिबसेको छ।” 14 तब अहीमेलेकले राजालाई जवाफ दिए, “तपाईंका सेवकहरूमध्ये राजाका जुवाइँ दावीद, तपाईंका अङ्गरक्षकहरूका सेनापति र तपाईंको घरानामा अति आदरणीय व्यक्ति अरू को छन् र? 15 मैले तिनका निम्ति याहवेहसँग सल्लाह लिएको के यो पहिलो पटक थियो र? कदापि होइन! महाराजाले आफ्नो सेवकमाथि अथवा मेरो पिताको परिवारको कसैमाथि पनि दोष नदिनू होला; किनकि तपाईंको सेवकलाई यी सबै मामिलाको बारेमा केही पनि थाहा छैन।” 16 तर राजाले भने, “हे अहीमेलेक, तिमी र तिम्रा पिताका सारा परिवार अवश्य मारिनेछौ।” 17 तब राजाले आफ्नो छेउमा भएका अङ्गरक्षकहरूलाई भने, “फर्केर याहवेहका पुजारीहरूलाई मार! किनकि यिनीहरू पनि दावीदपट्टि लागेका छन्। त्यो भाग्दैथियो भन्ने कुरा यिनीहरूलाई थाहा थियो; तापनि यिनीहरूले मलाई थाहा दिएनन्।” तर राजाका अधिकृतहरूले याहवेहका पुजारीहरूमाथि हात उठाउन मानेनन्। 18 तब राजाले दोएगलाई हुकुम गरे, “तैँले यी पुजारीहरूलाई मार्।” यसकारण एदोमी दोएगले तिनीहरूलाई मारे। त्यस दिन दोएगले मलमलको एपोद लगाउने पचासी जना पुजारीहरूलाई मारे। 19 त्यसले पुजारीहरूको नगर नोबमा भएका मानिसहरू, स्त्रीहरू, बालबच्चाहरू र शिशुहरू, गाईबस्तु, गधाहरू र भेडाहरू सबैलाई पनि तरवारले मार्यो। 20 तर अहीतूबको नाति, अहीमेलेकको छोरो अबीयाथारचाहिँ उम्के, र दावीदलाई भेट्न गए। 21 अबीयाथारले दावीदलाई शाऊलले नोबका याहवेहका पुजारीहरूलाई मारेको कुरा बताइदिए। 22 तब दावीदले अबीयाथारलाई भने, “त्यस दिन, जब एदोमी दोएग त्यहाँ थियो, त्यसले शाऊललाई निश्चय भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सम्पूर्ण परिवारको मृत्युको जिम्मेवार म नै हुँ। 23 मसँग बस; तिमी नडराऊ। तिम्रो प्राण लिन चाहने मानिसले मेरो पनि प्राण लिन चाहन्छ। तिमी मसँग सुरक्षित रहनेछौ।” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.