१ शमूएल 21 - पवित्र बाइबल नेपाली समकालीन संस्करणदावीद नोबमा 1 दावीद नोबमा पुजारी अहीमेलेमकहाँ गए। तिनलाई भेटेर अहीमेलेक काँपे, र सोधे, “तपाईं किन यहाँ एकलै आउनुभयो? तपाईंसँग किन कोही पनि छैन?” 2 दावीदले पुजारी अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई कुनै विशेष कामले पठाउनुभएको छ, र मलाई भन्नुभएको छ, ‘तिम्रो काम र मेरो आदेशको बारेमा कसैलाई थाहा नहोस्।’ मेरा मानिसहरूको बारेमा चाहिँ मैले तिनीहरूलाई एउटा विशेष ठाउँमा मलाई भेट्न भनेको छु। 3 अब भन्नुहोस्, तपाईंसँग के छ? मलाई पाँच वटा रोटी, अर्थात् तपाईंसँग जे छ, त्यही दिनुहोस्।” 4 तर पुजारीले दावीदलाई भने, “मसँग कुनै साधारण रोटीहरू त छैनन्, केही पवित्र रोटीहरू मात्र छन्—तर यी खाने जवान मानिसहरूले आफूलाई स्त्रीसँगको सम्बन्धबाट अलग राखेको हुनुपर्छ।” 5 दावीदले भने, “निश्चिन्त हुनुहोस्, जब म बाहिर निस्कन्छु, तब सदाझैँ स्त्रीहरू हामीदेखि अलग नै हुन्छन्। मानिसहरू साधारण कामहरूमा त पवित्र हुन्छन् भने आज त झन् कति पवित्र छन्!” 6 यसकारण त्यहाँ अरू रोटी नभएको कारण पुजारीले तिनलाई ती पवित्र रोटीहरू दिए। किनकि त्यही दिन याहवेहको सामुबाट पुराना रोटी हटाइएका थिए, र ताजा रोटी चढाइएका थिए। 7 त्यस दिन त्यहाँ शाऊलको एक जना सेवक पनि थियो, जसलाई याहवेहको सामु रोकेर राखिएको थियो। त्यो शाऊलको मुख्य गोठालो एदोमी दोएग थियो। 8 दावीदले अहीमेलेकलाई सोधे, “के तपाईंसँग यहाँ कुनै तरवार अथवा भाला छ? राजाको काम जरुरी भएको कारणले गर्दा मैले आफ्नो तरवार, अर्थात् मेरा कुनै पनि हतियारहरू लिएर आउन पाइनँ।” 9 पुजारीले जवाफ दिए, “तपाईंले एलाको बेँसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार यहाँ छ। त्यस तरवारलाई कपडाले बेह्रेर एपोदको पछिल्तिर राखिएको छ। यदि तपाईं चाहनुहुन्छ भने यही लानुहोस्; किनकि यहाँ योबाहेक अरू तरवार छैन।” दावीदले भने, “योजस्तो तरवार अरू छँदैछैन; मलाई यही दिनुहोस्।” दावीद गातमा 10 त्यस दिन दावीद शाऊलदेखि भागे, र गात सहरका राजा आकीशकहाँ गए। 11 तर आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी त्यस देशका राजा दावीद होइनन् र? के यिनी तिनै व्यक्ति होइनन्, जसको बारेमा तिनीहरूले नाच्दै यसो भन्दै गाएका थिए?” शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले लाखौँ-लाखलाई मारे। 12 दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए। 13 यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे। 14 तब आकीशले आफ्ना नोकरहरूलाई भने, “यस मानिसलाई हेर त! यो त बहुला पो रहेछ! यसलाई किन मकहाँ ल्यायौ? 15 के मसँग बहुलाहरूको खाँचो छ, र यसलाई मेरो सामु ल्याउँछौ? के यस्तो मानिस मेरो घरमा आउनैपर्छ?” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.