Online Bible

- Reklamy -

१ पत्रुस 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


मण्डलीका प्रधानहरू र परमेश्‍वरका जनहरूलाई केही अर्तीहरू

1 तिमीहरूमध्येका मण्डलीका प्रधानहरूलाई, म एक सङ्गी प्रधानको नाताले, जो ख्रीष्‍टको दुःखको साक्षी र प्रकट हुन लागेको महिमामा सहभागीको हैसियतले, तिमीहरूलाई अनुरोध गर्दछु:

2 तिमीहरूको हेरचाहमा भएको परमेश्‍वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्‍वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर।

3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर!

4 अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।

5 हे जवानहरू हो, यसरी नै मण्डलीका प्रधानहरूको अधीनमा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर; किनकि, “परमेश्‍वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”

6 यसकारण परमेश्‍वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

7 तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।

8 संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ।

9 विश्‍वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्‍ट भोगिरहेका छन्।

10 सबै अनुग्रहका परमेश्‍वर, जसले तिमीहरूलाई ख्रीष्‍टमा आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ; तिमीहरूले केही समयसम्म कष्‍ट भोगेपछि उहाँले नै तिमीहरूलाई पुनर्स्थापन गर्नुहुनेछ र तिमीहरूलाई बलिया, स्थिर र शक्तिशाली बनाउनुहुनेछ।

11 उहाँलाई नै पराक्रम सदासर्वदा भइरहोस्! आमेन।


अन्तिम अभिवादन

12 सिलासको सहायताले, जसलाई म एक विश्‍वासयोग्य भाइ ठान्दछु, मैले तिमीहरूलाई उत्साह दिँदै र यही नै परमेश्‍वरको सत्य अनुग्रह भनी छोटकरीमा लेखेको छु। यसमा अटल रहो।

13 तिमीहरूसँगै छानिएकी बेबिलोनमा तिमीहरूकी बहिनीले तिमीहरूलाई अभिवादन पठाएकी छिन्, साथै मेरा छोरा मर्कूसले पनि।

14 एक-अर्कालाई ख्रीष्‍टिय प्रेमले अभिवादन गर। ख्रीष्‍टमा भएका तिमीहरू सबैलाई शान्ति!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy