१ पत्रुस 3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै, 2 तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्। 3 तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। 4 तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ। 5 किनकि परमेश्वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे; 6 साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ। 7 त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्। असल काम गर्दा दुःख भोगाइ 8 अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ। 9 दुष्टताको सट्टा दुष्टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ। 10 किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ। 11 तिनले दुष्टताबाट फर्केर भलाइ गर्नुपर्दछ, तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ। 12 किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्नलाई खुल्ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” 13 त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र? 14 तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!” 15 तर तिमीहरूका हृदयमा ख्रीष्टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर। 16 तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्। 17 परमेश्वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो। 18 किनकि अधर्मीहरूलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट, जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो। 19 उहाँ आत्मामा जानुभयो, र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो, 20 जसले प्राचीन समयमा आज्ञा उल्लङ्घन गरेका थिए, जुन बेला नोआको समयमा जहाज बनिँदै गर्दा परमेश्वरले धैर्यसाथ पर्खनुभएको थियो। जुन जहाजमा केही मानिसहरू अर्थात् जम्मा आठ जना मानिसहरू पानीबाट बाँचेका थिए; 21 अनि यो पानीले बप्तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्वरप्रतिको स्पष्ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्टको पुनरुत्थानद्वारा बचाउँदछ; 22 ख्रीष्ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्वरको दाहिने हाततिर बस्नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.