१ कोरिन्थी 15 - पवित्र बाइबल नेपाली समकालीन संस्करणख्रीष्टको पुनरुत्थान 1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ। 2 यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गरेका हुनेछौ। 3 किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। 4 अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो। 5 उहाँ केफासकहाँ र त्यसपछि बाह्र जना चेलाहरूकहाँ देखा पर्नुभयो। 6 त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरै जना अझै पनि जीवित छँदैछन् र कतिचाहिँ सुतिसकेका छन्। 7 तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। 8 अनि सबैभन्दा अन्तिममा समय पूरा नभइकन जन्मेको व्यक्तिकहाँ जस्तो मकहाँ पनि देखा पर्नुभयो। 9 किनकि म सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, म त प्रेरित भनिने लायकको पनि छैनँ; किनभने मैले परमेश्वरको मण्डलीलाई सताएको थिएँ। 10 तर म आज जे छु, परमेश्वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर मसँग भएको परमेश्वरको अनुग्रहको कारणले नै हो। 11 यसैकारण मैले होस् वा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेको सन्देश यही हो, र तिमीहरूले विश्वास गरेको पनि यही नै हो। मरेकाहरूको पुनरुत्थान 12 तर यदि मरेकाहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भन्ने प्रचार भएको छ भने तिमीहरू कतिले कसरी मरेकाहरूको पुनरुत्थान हुँदैन भनी भन्छौ त? 13 यदि मरेकाहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्ट पनि पुनरुत्थान हुनुभएको होइन। 14 यदि ख्रीष्ट पुनर्जीवित हुनुभएको होइन भने हाम्रो प्रचार र तिमीहरूको विश्वास पनि व्यर्थ हो। 15 त्योभन्दा बढी हामी परमेश्वरका झूटा साक्षीहरू ठहरिनेछौँ; किनकि हामीले परमेश्वरले ख्रीष्टलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभएको छ भन्ने गवाही दिएका छौँ। तर यदि उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएको होइन भने वास्तवमा मरेकाहरू पुनर्जीवित हुँदैनन्। 16 किनकि यदि मरेकाहरू पुनर्जीवित नहुने भए त ख्रीष्ट पनि पुनर्जीवित हुनुभएको छैन। 17 यदि ख्रीष्ट पुनर्जीवित हुनुभएको छैन भने तिमीहरूको विश्वास व्यर्थ भयो; अनि तिमीहरू अझै पनि आफ्ना पापमै छौ। 18 त्यसो हो भने ख्रीष्टमा विश्वास गरेर सुतिगएकाहरू पनि नष्ट भएका छन्। 19 यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हाम्रो आशा राखेका छौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ। 20 तर वास्तवमै ख्रीष्ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो। 21 किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो। 22 जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्टमा सबै जीवित पारिनेछन्। 23 तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्। 24 तब अन्त्य आउनेछ; जब उहाँले दुष्टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्वरलाई राज्य सुम्पनुहुनेछ। 25 किनकि ख्रीष्टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ। 26 अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो। 27 किनकि परमेश्वरले “सबै कुरा उहाँको पाउमुनि राख्नुभएको छ।” यो स्पष्ट छ, कि “सबै कुरा” भन्नाले सबै कुरा ख्रीष्टको अधीनमा गराउनुहुने परमेश्वर आफैँचाहिँ त्यस अधीनमा हुनुहुन्न। 28 जब परमेश्वरले सबै कुरा ख्रीष्टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफैँ पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको छ, ताकि परमेश्वर सबै कुरामा सर्वेसर्वा होऊन्। 29 यदि पुनरुत्थान नहुने भए, मरेकाहरूका निम्ति बप्तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै नहुने भए, किन मानिसहरूले तिनीहरूका लागि बप्तिस्मा लिन्छन्? 30 अनि हाम्रो विषयमा, हामीले आफूलाई हर घडी किन जोखिममा पार्छौँ? 31 म दिनहुँ मृत्युको सामना गर्छु—हो, मेरो भनाइको अर्थ, हाम्रा प्रभु ख्रीष्ट येशूमा म तिमीहरूको कारण गर्व गर्दछु। 32 यदि मानवीय दृष्टिकोणले मात्र मैले एफिससमा जङ्गली जनावरहरूसँग जस्तै मानिसहरूसँग लडाइँ गरेको हुन्थेँ भने मलाई लाभ हुन्थ्यो र? यदि मरेकाहरू पुनर्जीवित नहुने भए, “हामी खाऔँ र पिऔँ, किनकि भोलि त हामी मरिहाल्छौँ।” 33 भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई नष्ट पार्छ।” 34 होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु; किनकि तिमीहरूमध्ये कतिले त परमेश्वरलाई चिनेका छैनौ। पुनरुत्थान भएको शरीर 35 तर कसैले सोध्ला, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? र कस्ता किसिमका शरीरमा तिनीहरू आउनेछन्?” 36 हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन। 37 जब तिमी छर्दछौ, तब तिमीले पछि आउने शरीर त रोप्दैनौ, तर एउटा बिउ मात्र छर्दछौ, चाहे त्यो गहुँको होस् वा अरू केहीको होस्। 38 तर परमेश्वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बिउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ। 39 सबैको शरीर एकै प्रकारको हुँदैन: मानिसको एक प्रकारको शरीर हुन्छ, जनावरहरूको अर्कै प्रकारको, चराहरूको अर्कै प्रकारको र माछाहरूको अर्कै प्रकारको शरीर हुन्छ। 40 स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, र सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ। 41 सूर्यको तेज एक किसिमको हुन्छ, चन्द्रमाको अर्कै किसिमको र ताराहरूको अर्कै किसिमको हुन्छ; किनकि एउटा ताराको तेज अर्को ताराको तेजभन्दा भिन्दै प्रकारको हुन्छ। 42 मरेकाहरूको पुनरुत्थान पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ। 43 त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ। 44 त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ। यदि प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि हुन्छ। 45 यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो। 46 पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। 47 पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ। 48 माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्। 49 जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौँ, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौँ। 50 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न त विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ। 51 सुन, म तिमीहरूलाई एउटा रहस्य भन्दछु: हामी सबै जना सुतिजानेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ; 52 एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौँ। 53 किनकि विनाशीले अविनाशी रूप धारण गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ। 54 जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्युलाई विजयमा निलिएको छ।” 55 “ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?” 56 मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो। 57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। 58 यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.