Online Bible

- Reklamy -

१ इतिहास 22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब दावीदले भने, “याहवेह परमेश्‍वरको भवन र इस्राएलको निम्ति होमबलिको वेदी पनि यहीँ हुनुपर्छ।”


मन्दिरको निम्ति तयारी

2 यसकारण दावीदले इस्राएलमा बस्दै आएका विदेशीहरूलाई भेला गर्ने हुकुम दिए। अनि तिनीहरूमध्येबाट परमेश्‍वरको भवन निर्माण गर्नलाई काटेका राम्रा ढुङ्गा तयार गर्न भनी ढुङ्गा काट्नेहरू नियुक्त गरे।

3 तिनले मूलढोकाहरूका निम्ति काँटीहरू र चेपुवाहरू बनाउन धेरै मात्रामा फलाम प्रबन्ध गरिदिए; अनि तौलन नसकिने मात्रामा काँसाहरू दिए।

4 तिनले असंख्य देवदारुका काठहरूको पनि प्रबन्ध गरिदिए; किनकि सीदोनी र टायरवासीहरूले धेरै संख्यामा दावीदकहाँ ती काठहरू ल्याएका थिए।

5 दावीदले भने, “मेरो छोरा सोलोमन कलिलै र अनुभवहीन छ; अनि याहवेहको नामको निम्ति बनाउनुपर्ने भवनचाहिँ सबै जातिहरूको दृष्‍टिमा अति विशाल, अति प्रसिद्ध र अति नै सुन्दर हुनुपर्छ। यसकारण म निर्माणको तयारी गर्नेछु।” यसकारण दावीदले आफ्नो मृत्युअगि नै व्यापक तयारी गरे।

6 त्यसपछि तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए, र तिनलाई याहवेह इस्राएलका परमेश्‍वरको निम्ति एउटा भवन निर्माण गर्ने जिम्मा दिए।

7 दावीदले सोलोमनलाई भने, “मेरो छोरा, याहवेह मेरो परमेश्‍वरको नामको खातिर एउटा भवन बनाउने इच्छा मेरो हृदयमा थियो।

8 तर याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो: ‘तैँले धेरै रगत बगाएको छस्, र धेरै युद्धहरू लडेको छस्। त्यसैले तैँले मेरो नामको खातिर भवन बनाउनेछैनस्; किनकि मेरो दृष्‍टिमा यस पृथ्वीमा तैँले धेरै रगत बगाएको छस्।

9 तर तेरो एउटा छोरा जन्मनेछ, जो शान्ति र विश्रामको मानिस हुनेछ। अनि म त्यसलाई त्यसका चारै दिशाका शत्रुहरूबाट विश्राम दिनेछु। त्यसको नाम सोलोमन हुनेछ; म त्यसको शासनकालमा इस्राएललाई शान्ति र सुरक्षा दिनेछु।

10 त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसको पिता हुनेछु। अनि म इस्राएलमा त्यसको राज्यको सिंहासन सदासर्वदाका निम्ति स्थापित गर्नेछु।’

11 “अब हे मेरो छोरा, याहवेह तँसँग रहून्, र तँलाई सफलता मिलोस्; अनि उहाँले भन्‍नुभएजस्तै तैँले याहवेह तेरा परमेश्‍वरको भवन बनाउनू।

12 जब उहाँले तँलाई इस्राएलमाथि अधिकार दिएर राख्नुहुन्छ, तब याहवेहले तँलाई बुद्धि र समझशक्ति देऊन्, ताकि तैँले याहवेह तेरा परमेश्‍वरको व्यवस्था पालन गर्न सक।

13 अनि यदि तैँले याहवेहले मोशाद्वारा इस्राएललाई दिनुभएका आदेशहरू होसियारीसाथ पालन गरिस् भने तैँले सफलता पाउनेछस्। बलियो र साहसी हो। नडरा अथवा निराश नहो।

14 “मैले याहवेहको भवनका निम्ति धेरै दुःख गरेर एक लाख टालेन्ट सुन, दश लाख टालेन्ट चाँदी, प्रशस्त मात्रामा काँसो र तौलन नसकिने फलाम, र काठ र ढुङ्गा प्रबन्ध गरेको छु। तैँले त्यसमा अझै थप्न सक्छस्।

15 तँसँग धेरै कर्मचारीहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू र सिकर्मीहरूका साथमा हरेक प्रकारका काममा सिपालु मानिसहरू छन्,

16 अर्थात् सुन र चाँदी, काँसो र फलामका काम गर्ने असंख्य कारिगरहरू छन्। अब काम सुरु गर्, र याहवेह तेरो साथमा रहून्।”

17 त्यसपछि दावीदले इस्राएलका सारा अगुवाहरूलाई आफ्नो छोरा सोलोमनलाई सहायता गर्न आदेश दिए।

18 दावीदले तिनीहरूलाई भने, “के याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍न र? अनि के उहाँले तिमीहरूलाई चारैतिरबाट विश्राम दिनुभएको छैन र? किनकि उहाँले यस देशका बासिन्दाहरूलाई मकहाँ सुम्पनुभएको छ; अनि यो देश, याहवेह र उहाँका प्रजाहरूका अधीनमा रहेको छ।

19 अब तिमीहरूका हृदय र आत्मालाई याहवेह तिमीहरूका परमेश्‍वरलाई खोज्नमा लगाओ। याहवेह परमेश्‍वरको पवित्रस्थानको निर्माण गर्न सुरु गर, ताकि याहवेहको नामको खातिर बनिने मन्दिरभित्र याहवेहको करारको सन्दुक र परमेश्‍वरका पवित्र चीजहरू तिमीहरूले ल्याउन सक।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy