Online Bible

- Reklamy -

१ इतिहास 20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


रब्बा सहरको कब्जा

1 बसन्त ऋतुमा जब राजाहरू युद्ध गर्न निस्कन्थे, तब योआबले हतियारधारी दलहरूको नेतृत्व गरे। तिनले अम्मोनीहरूको देशलाई सखाप पारे। अनि रब्बा सहरमा गए, र त्यस सहरलाई घेरा हाले; तर दावीदचाहिँ यरूशलेममै बसे। योआबले रब्बामाथि आक्रमण गरेर त्यसलाई ध्वस्त पारे।

2 दावीदले तिनीहरूका राजा मिल्कोमको शिरबाट मुकुट लिए, जसको तौल एक टालेन्ट सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए; अनि त्यो मुकुट दावीदको शिरमा लगाइयो। तिनले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू ल्याए,

3 अनि त्यहाँ भएका मानिसहरूलाई निकालेर ल्याए; तिनीहरूलाई आरा, फलामका हतियारहरू र बन्चरोका कामहरू गर्न लगाए। दावीदले अम्मोनीहरूका सबै नगरहरूसित यस्तै गरे। तब दावीद र तिनका सम्पूर्ण सेना यरूशलेममा फर्के।


पलिश्तीहरूसँग युद्ध

4 त्यसपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो। त्यस बेला हूशातीमा बस्‍ने सिब्बकैले रपाईहरूको एउटा सन्तान सिप्पैलाई मारे, जसले गर्दा पलिश्तीहरू अधीनमा आए।

5 पलिश्तीहरूसँगको अर्को एउटा लडाइँमा याईरका छोरा एल्हानानले गित्ती गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो।

6 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो।

7 जब त्यसले इस्राएललाई खिसी गर्‍यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।

8 यिनीहरू गातमा भएका रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy