१ इतिहास 14 - पवित्र बाइबल नेपाली समकालीन संस्करणदावीदको घर र परिवार 1 टायरका राजा हीरामले दावीदका निम्ति महल निर्माण गर्नलाई देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। 2 अनि याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव धेरै बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो। 3 दावीदले यरूशलेममा अरू धेरै पत्नीहरू ल्याए। तिनी अरू पनि धेरै छोराछोरीहरूका पिता भए। 4 यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, 5 यिभार, एलीशूअ, एल्पेलेत, 6 नोगह, नेपेग, याफिया, 7 एलीशामा, बेलीयादा र एलीपेलेत। दावीदले पलिश्तीहरूलाई परास्त गरेका 8 जब दावीद सारा इस्राएलमाथि राजा अभिषेक भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर त्यो कुरा सुनेर दावीद तिनीहरूसँग युद्ध गर्नलाई गए। 9 तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीलाई लुटपाट गरे। 10 यसकारण दावीदले परमेश्वरसँग यसो भन्दै सल्लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले तिनलाई जवाफ दिनुभयो, “जा, म तिनीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” 11 यसकारण दावीद र तिनका मानिसहरू बाल-पराजीममा गए। अनि त्यहाँ तिनले तिनीहरूलाई जिते। तिनले भने, “बाँध फुटेर ओइरिएको पानीझैँ, परमेश्वरले मलाई मेरा शत्रुहरूको विरुद्धमा जाइलाग्न प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो। 12 पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडेर भागे। तब दावीदले तिनीहरूलाई आगोमा जलाइदिने आदेश दिए। 13 पलिश्तीहरू फेरि एक पटक बेँसीमा लुटपाट गर्न आए। 14 यसकारण दावीदले फेरि परमेश्वरसित सल्लाह लिए। अनि परमेश्वरले तिनलाई जवाफ दिनुभयो, “तिमीहरू सीधै तिनीहरू माथि जाइनलाग, तर तिनीहरूलाई घेरा हालेर लहरे पीपलका रूखहरूको सामुबाट आक्रमण गर। 15 तिमीहरूले ती लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू। किनकि त्यसको अर्थ परमेश्वर पलिश्ती सेनाहरूलाई प्रहार गर्न तिमीहरूका अगि-अगि जानुहुनेछ।” 16 यसकारण दावीदले परमेश्वरले तिनलाई आज्ञा गर्नुभएअनुसार गरे; अनि तिनीहरूले पलिश्ती सेनाहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे। 17 यसरी दावीदको कीर्ति सर्वत्र फैलियो। याहवेहले सबै राष्ट्रलाई दावीदसँग भयभीत हुने बनाउनुभयो। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.