१ इतिहास 13 - पवित्र बाइबल नेपाली समकालीन संस्करणसन्दुक फिर्ता ल्याइएको 1 दावीदले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसहित आफ्ना प्रत्येक अधिकारीहरूसँग सल्लाह लिए। 2 त्यसपछि तिनले इस्राएलका सारा समुदायलाई भने, “यदि तपाईंहरूलाई असल लाग्यो, र याहवेह हाम्रा परमेश्वरको इच्छा यही हो भने हामी इस्राएलको प्रान्तभरि टाढा वा नजिक रहेका हाम्रा बाँकी दाजुभाइहरूकहाँ र तिनीहरूसँग तिनीहरूकै नगर र खर्कहरूमा रहेका पुजारीहरू र लेवीहरूलाई हामीकहाँ आउन र हामीसँग सामेल हुन खबर पठाऔँ। 3 हामी परमेश्वरको सन्दुकलाई आफूकहाँ फर्काएर ल्याऔँ। किनकि हामीले शाऊलको शासनकालमा सन्दुकको खोजी गरेनौँ।” 4 सबै मानिसहरूलाई यो ठिक लागेको कारण, सम्पूर्ण समुदाय त्यसमा सहमत भयो। 5 यसकारण दावीदले इजिप्टमा भएको शीहोर नदीदेखि लेबो-हमातसम्मका सबै इस्राएलीहरूलाई किर्यत-यारीमबाट परमेश्वरको सन्दुक ल्याउन भनी भेला गराए। 6 दावीद र तिनीसँग भएका सारा इस्राएलीहरू करूबहरूका बीच सिंहासनमा विराजमान हुनुहुने याहवेह परमेश्वरका नामले कहलाइएको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाहमा (किर्यत-यारीम) गए। 7 तिनीहरूले परमेश्वरको सन्दुकलाई अबीनादाबको घरबाट एउटा नयाँ गाडामा राखेर, उज्जाह र अहियोले त्यो गाडा हाँकेर त्यसलाई अगि बढाए। 8 दावीद र सारा इस्राएलीहरूचाहिँ गीत, वीणा, सारङ्गी, खैँजडी, झ्याली र तुरहीको साथमा आफ्ना सारा शक्तिले परमेश्वरको सामु उत्सव मनाइरहेका थिए। 9 जब तिनीहरू किदोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नखसोस् भनी त्यसलाई थाम्न भनेर उज्जाहले आफ्नो हात बढाए। 10 तब याहवेहको क्रोध उज्जाहमाथि दन्कियो। अनि तिनले आफ्नो हातले सन्दुकलाई छोएको कारण, उहाँले तिनलाई प्रहार गर्नुभयो। यसकारण त्यहीँ नै परमेश्वरको सामु तिनको मृत्यु भयो। 11 यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह भनिन्छ। 12 त्यस दिन दावीद परमेश्वरसँग डराए, र तिनले सोधे, “मैले परमेश्वरको सन्दुक कसरी आफूकहाँ ल्याउन सकूँला?” 13 दावीदले सन्दुकलाई दावीदको सहरमा आफूसँग लगेनन्, बरु तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे। 14 परमेश्वरको सन्दुक ओबेद-एदोमकहाँ तीन महिनासम्म रह्यो। याहवेहले तिनको घराना र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभयो। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.