मलाकीको पुस्तक 1 - सरल नेपाली पवित्र बाइबल1 इस्राएलका मानिसहरूलाई सुनाउन परमप्रभुले मलाकीलाई यो सन्देश दिनुभयो। इस्राएलमाथि परमप्रभुको प्रेम 2 परमप्रभुले आफ्ना प्रजालाई भन्नुहुन्छ, “मैले तिमीहरूलाई सधैँ प्रेम गरेको छु।” तर तिनीहरूले जवाफ दिन्छन्, “तपाईंले हामीप्रति आफ्नो प्रेम कसरी देखाउनुभयो?” परमप्रभुले उत्तर दिनुहुन्छ, “एसाव र याकूब दाजुभाइ थिए तर मैले याकूब र त्यसका सन्तानहरूलाई प्रेम गरें 3 र एसाव र त्यसका सन्तानहरूलाई घृणा गरें। एसावको पहाडी देश विध्वंस गरी त्यहाँका जग्गाजमिन स्यालहरूलाई छोडिदिएँ।” 4 एसावका सन्तानहरू एदोमीहरूले यदि “हाम्रा सहरहरू नाश त पारिए तर हामी ती सहरहरूलाई फेरि बनाउनेछौं,” भन्छन् भने परमप्रभुले यस्तो उत्तर दिनुहुनेछ, “तिनीहरू फेरि बनाउँदैजाऊन्, म ती फेरि भत्काइ दिनेछु। मानिसहरूले तिनीहरूलाई ‘दुष्ट देश’ र ‘परमप्रभु त्योमाथि सधैँ रिसाउनुभएको जाति’ भन्ने नाम दिनेछन्।” 5 इस्राएलका मानिसहरूले आफ्नै आँखाले यी सबै कुराहरू देख्नेछन् र “इस्राएल देशबाहिर पनि परमप्रभु सामर्थी हुनुहुन्छ,” भन्नेछन्। परमप्रभुले पूजाहारीहरूलाई हप्काउनुहुन्छ 6 सर्वशक्तिमान् परमप्रभुले पूजाहारीहरूलाई यसो भन्नुहुन्छ, “छोरोले बुबालाई आदर गर्छ। चाकरले मालिकलाई आदर गर्छ। म तिमीहरूका बुबा हुँ भने तिमीहरूले किन मेरो आदर गर्दैनौ? म तिमीहरूका मालिक हुँ तर तिमीहरूले मलाई किन आदर गर्दैनौ। तिमीहरूले मलाई तिरस्कार गर्छौ र फेरि भन्छौ, ‘हामीले कसरी तपाईंलाई तिरस्कार गर्यौं?’ 7 तिमीहरूले मलाई यसरी तिरस्कार गर्यौ, मेरो वेदीमा तिमीहरूले अशुद्ध रोटी चढायौ। तब फेरि तिमीहरू सोध्दछौ, ‘कसरी हामीले तपाईंलाई अनादर गर्यौं त?’ म भन्दछु, मेरो वेदीलाई अपमान गरेर तिमीहरूले मलाई अनादर गर्यौ! 8 तिमीहरू जब मकहाँ बलि चढाउन अन्धा वा बिरामी वा लङ्गडा पशु ल्याउँदछौ, के त्यो ठीकै कुरा हो भनी सोच्दछौ? त्यस्तो पशु बडा-हाकिमलाई दिएर हेर त! के उनी तिमीहरूसित खुसी होलान्? तिमीहरूलाई उनले केही कुरामा कृपा गर्लान् त?” 9 तिमी पूजाहारीहरूले अब परमेश्वरलाई हामीमाथि कृपादृष्टि गर्नुहोस् भनी बिन्ती गरी हेर। तिमीहरूले हातमा यस्तो भेटी लिई आउँदा के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ र? 10 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई मेरो वेदीमा व्यर्थको आगो बाल्न रोक्नलाई तिमीहरूमध्ये कसैले मन्दिरको ढोका बन्द गरिदिए त हुनेथियो। म तिमीहरूसित प्रसन्न छैनँ, तिमीहरूले ल्याएका भेटी म ग्रहण गर्नेछैनँ। 11 पृथ्वीभरिका एक छेउबाट अर्को छेउसम्मका मानिसहरूले मलाई आदर गर्छन्। हरेक ठाउँमा तिनीहरूले मलाई धूप बाल्छन् र उचित बलिहरू चढाउँछन्। तिनीहरू सबैले मेरो आदर गर्छन्! 12 तर तिमीहरूले मेरो अनादर गर्छौ किनकि तिमीहरूले मेरो वेदी बेकामको ठहर्याएर त्यसमा तिरस्कार गरिएको भोजन चढाउँछौ। 13 तिमीहरू भन्छौ, ‘हामीलाई यी सबै दिक्क लागिसक्यो’ र आफ्ना नाक खुम्च्याउँछौ। चोरेका वा लङ्गडा वा बिरामी पशु भेटी चढाउन ल्याउँछौ। के ती भेटीहरू म ग्रहण गर्छु भनी तिमीहरू ठान्दछौ? 14 तर त्यस्तो छली मानिसलाई सराप लाग्छ, जसले आफ्नो बगालमा मलाई चढाउन भाकल गरेको असल पशु छँदाछँदै पनि मलाई खोट लागेको पशु बलि चढाउँदछ किनकि म महान् राजा हुँ। सबै जातिका मानिसहरूले मेरो डर मान्छन्।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society