Aanlyn Bybel

- Advertensies -

यर्मिया 1 - सरल नेपाली पवित्र बाइबल


यर्मिया

1 बेन्‍यामीनी मुलुकको अनातोत सहरका एक जना पूजाहारी हिल्‍कियाहको छोरो यर्मियाले भनेका कुरा यस पुस्‍तकमा छन्।

2 अमोनका छोरा योशियाह यहूदाका राजा भएको तेह्रौँ वर्षमा यर्मियासित परमप्रभु बोल्‍नुभयो।

3 योशियाहका छोरा यहोयाकीम राजा हुँदा परमप्रभु तिनीसित फेरि बोल्‍नुभयो। त्‍यसपछि योशियाहका छोरा सिदकियाह राजा भएको एघारौँ वर्षसम्‍मै परमप्रभु तिनीहरूसित धेरै पल्‍ट बोलिरहनुभयो। त्‍यस वर्षको पाँचौँ महिनामा यरूशलेमका मानिसहरू कैद गरी मुलुकबाहिर लगिएका थिए।


यर्मियाको बोलावट

4 परमप्रभुले मलाई भन्‍नुभयो,

5 “मैले तँलाई तेरी आमाको कोखमा सृष्‍टि गर्नुभन्दा अघि नै रोजेको थिएँ र तँ जन्‍मनुअघि नै जाति-जातिहरूलाई अगमवाणी सुनाउन अलग गरेको थिएँ।”

6 मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।”

7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्‌ तर जुन मानिसहरूबीच म तँलाई पठाउँदछु, तिनीहरूकहाँ जा र म तँलाई जे आज्ञा गर्दछु, ती तिनीहरूलाई सुना।

8 तिनीहरूसित नडरा किनभने म तेरो रक्षा गर्न तँसित हुनेछु। म परमप्रभु बोलेको छु!”

9 त्‍यसपछि परमप्रभुले हात पसार्नुभएर मेरो ओठ छुनुभयो र मलाई भन्‍नुभयो, “सुन्, तैँले बोल्‍नुपर्ने वचन म तँलाई दिन्‍छु।

10 आज म तँलाई जाति-जाति र राज्‍य-राज्‍यमाथि तिनीहरूलाई उखेल्‍ने, ढाल्‍ने, नाश गर्ने वा भताभुङ्ग पार्ने, बनाउने र स्‍थापित गर्ने अधिकार दिन्‍छु।”


दुई दर्शनहरू

11 परमप्रभुले मलाई सोध्‍नुभयो, “ए यर्मिया, तैँले के देख्‍दैछस्?” मैले जवाफ दिएँ, “हाडे-बदामको रूखको एउटा हाँगा देख्‍छु।”

12 परमप्रभुले मलाई भन्‍नुभयो, “तैँले ठीक देखिस्, कारण मेरो वचन पूरा भएको हेर्नलाई म पर्खिरहेको छु।”

13 परमप्रभुले मलाई फेरि भन्‍नुभयो, “अरू के देख्‍छस् नि?” मैले जवाफ दिएँ, “उत्तर दिशामा म एउटा भाँडो उम्‍लिरहेको देख्‍छु र त्‍यो यतापट्टितिर ढल्‍न आँटेको छ।”

14 उहाँले मलाई भन्‍नुभयो, “उत्तरबाट नै विनाश उम्‍लिएर यस देशका बासिन्‍दाहरूमाथि आइपर्नेछ

15 किनभने म उत्तरका सबै जातिहरूलाई बोलाउँदै छु। तिनीहरूका राजाहरूले आ-आफ्‍ना सिंहासन यरूशलेमका मूल-ढोकाहरूमा र पर्खालका चारैपट्टि र यहूदाका अरू सबै सहरहरूका चारैतिर पनि बसाल्‍नेछन्।

16 म आफ्‍नो प्रजालाई दण्‍ड दिनेछु किनभने तिनीहरूले पाप गरेका छन्, मलाई त्‍यागेका छन्, अरू देवी-देवताहरूलाई धूप बालेका छन् र मूर्तिहरू बनाएर तिनीहरूको पूजा गरेका छन्।

17 यर्मिया, तयार हो, गएर मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई सुना। अब तिनीहरूसित नडरा। नत्र म तँलाई तिनीहरूका सामु अझ बढी डराउने बनाउनेछु।

18 ए यर्मिया, सुन्! यस देशका सबै जना, यहूदाका राजा, भारदार, पूजाहारी र मानिसहरू तेरो विरुद्धमा खडा हुनेछन्। तर आज तिनीहरूको सामना गर्ने शक्ति म तँलाई दिंदैछु। एउटा किल्‍लाले सुरक्षित गरिएको सहरजस्‍तो, फलामको खामो र काँसाको पर्खालजस्‍तो म तँलाई बलियो बनाउनेछु।

19 तिनीहरू तेरो विरुद्ध लड्‍नेछन् तर तँमाथि विजय गर्नेछैनन् किनभने तेरो रक्षा गर्नलाई म तँसित हुनेछु। म, परमप्रभु बोलेको छु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Volg ons:



Advertensies