एफिसी 1 - सरल नेपाली पवित्र बाइबल1 परमेश्वरको इच्छामा प्रेरित म पावलले एफिससमा बस्ने र ख्रीष्ट येशूमा विश्वास गर्ने पवित्र जनहरूलाई यो पत्र लेख्दै छु। 2 हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। आत्मिक आशिष् 3 हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई धन्यवाद होस्। उहाँले येशू ख्रीष्टमा हामीहरूलाई स्वर्गीय स्थानहरूमा प्रत्येक आत्मिक आशिष् दिनुभएको छ। 4 उहाँले संसार सृष्टि गर्नुभन्दा अघि नै ख्रीष्टमा हामीलाई आफ्ना सामु पवित्र र निर्दोष पार्न छान्नुभएको थियो। 5 माया गरेर उहाँले आफ्नो उद्देश्यअनुसार हामीलाई ख्रीष्टमा आफ्ना छोराहरू बनाइसक्नुभएको थियो। 6 हामी यति ठूलो अनुग्रहको लागि परमेश्वरलाई धन्यवाद चढाऔं। उहाँले आफ्नो प्यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो। 7 ख्रीष्टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्वतन्त्र भएका छौं। अहो, परमेश्वरको अनुग्रह कति ठूलो छ। 8 यही अनुग्रह प्रशस्तसँग उहाँले हामीमाथि खन्याउनुभयो। 9 उहाँकै सम्पूर्ण ज्ञान र बुद्धिमा परमेश्वरले आफ्नो इच्छा पूरा गर्नुभयो र ख्रीष्टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्त योजना पनि हामीलाई देखाउनुभयो। 10 परमेश्वरले आफ्नो काम ठीक समयमा पूरा गर्नुहुनेछ। योचाहिँ स्वर्ग र पृथ्वीमा सृष्टि भएका सबै कुरा नै ख्रीष्टको अधीनमा ल्याउने काम हो 11 किनभने सबै कुरा परमेश्वरको योजना र निर्णयअनुसार भएका छन्। परमेश्वरले हामीलाई आफ्नै खुसीले ख्रीष्टमा छान्नुभयो। योचाहिँ उहाँले पहिलेदेखि नै गर्नुभएको निर्णयअनुसार थियो। 12 हामी जतिले ख्रीष्टमा पहिल्यै भरोसा गर्यौं, परमेश्वरले आफ्नो प्रशंसाको लागि नियुक्त गर्नुभयो। 13 त्यस्तै तिमीहरूले पनि मुक्ति दिने सत्य सन्देश, सुसमाचार सुनेर ख्रीष्टमा विश्वास गर्यौ। आफूले प्रतिज्ञा गरेको पवित्र आत्माको छाप दिएर परमेश्वरले तिमीहरूलाई उहाँको आफ्नै बनाएको प्रमाण दिनुभयो। 14 परमेश्वरले प्रतिज्ञा गरेका हक नपाउञ्जेल त्यो पवित्र आत्माको बैना हो। हामी उहाँलाई प्रशंसा चढाऔं। 15 यही कारणले नै प्रभु येशूमा भएको तिमीहरूको विश्वास र ख्रीष्टका पवित्र जनहरूको निम्ति भएको तिमीहरूको प्रेम सुनेर 16 परमेश्वरलाई म सधैँ धन्यवाद चढाइ नै रहन्छु। म तिमीहरूलाई प्रार्थनामा सम्झिनेगर्दछु। 17 प्रभु येशू ख्रीष्टका परमेश्वर, सम्मान्को योग्य पिताले तिमीहरूलाई पवित्र आत्मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्नेछौ। 18 उहाँको ज्योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्मान् कति ठूलो छ। 19 ख्रीष्टमा विश्वास गर्नेहरूको लागि काम गर्ने उहाँको ठूलो शक्ति अनुमानै गर्न सकिंदैन भनी तिमीहरूलाई थाहा होस् भनेर प्रार्थना गर्दछु। 20 यही शक्ति उहाँले मरेकाबाट येशूलाई बिउँताउनुहुँदा र स्वर्गमा आफ्नो दाहिनेपट्टि उहाँलाई राख्नुहुँदा चलाउनुभयो। 21 ख्रीष्टले आकाशका सबै देवी-देवताहरूमाथि राज्य गर्नुहुन्छ। सबै शासकहरूमाथि अख्तियार चलाउनुहुन्छ, सबै शक्तिहरूमाथिको शक्ति हुनुहुन्छ अनि सबै प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ यस युगमा मात्र होइन, आउने युगहरूमा पनि भए जति सबै उपाधिहरूभन्दा उच्च हुनुहुन्छ। 22 परमेश्वरले सबै कुरा ख्रीष्टको चरणमुनि राखिदिनुभयो र उहाँलाई सबै कुरामा मण्डलीको शिर बनाउनुभयो। 23 मण्डलीचाहिँ ख्रीष्टको शरीर हो, यही शरीर सबै कुराले भरिएको उहाँको पूर्ण रूप हो। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society