उपदेशक 1 - सरल नेपाली पवित्र बाइबलसबै कुरा व्यर्थ छन् 1 दाऊदका छोरा यरूशलेमका राजा उपदेशकका वचन यी हुन्: 2 व्यर्थ छ, व्यर्थ उपदेशक भन्दछन्। जीवन व्यर्थ छ, सबै कुरा व्यर्थ छन्। 3 मानिसले जीवनभरि काम गरेर परिश्रम र मेहनतमा बिताउँछ तर उसलाई के लाभ छ र? 4 पुस्ता-पुस्ता आउँछन् र जान्छन् तर संसार भने जस्ताको त्यस्तै रहिरहन्छ। 5 सूर्य उदाउँछ, अस्ताउँछ र सही ठाउँमा पुग्छ, जहाँबाट त्यो फेरि उदय हुन्छ। 6 बतास दक्षिणतिर बहन्छ, उत्तरतिर बहन्छ, घुमेर चक्कर मार्दै त्यो फेरि त्यहीँ फर्कन्छ। 7 सबै नदीहरू बगेर समुद्रमा जान्छन् तर समुद्र कहिल्यै भरिंदैन। पानी फर्केर फेरि मुहानमा र फेरि त्यहाँबाट बग्न सुरु गर्छ। 8 सबै कुराले थकाउँछ र त्यो थकाइ यति भारी हुन्छ कि त्यसलाई बयान गर्ने शब्द छैन। आँखाले देखेर अघाउँदैन, कानले सुनेर तृप्त हुँदैन। 9 अघि जे भएको थियो, त्यो फेरि हुनेछ। अघि जे काम गरिएको थियो, त्यो फेरि गरिनेछ। नयाँ कुरा सारा संसारमा केही छैन। 10 मानिसहरू भन्छन्, “यहाँ हेर! यो नयाँ कुरा हो!” तर होइन, त्यो अघि नै भइसकेको थियो। हाम्रो समयभन्दा उहिले नै भएको थियो। 11 उहिलेका मानिसहरूलाई कसैले सम्झनेछैन र आउने पुस्तालाई त्यसपछिका पुस्ताले याद गर्नेछैन। उपदेशकको अनुभव 12 म उपदेशकले, इस्राएलका राजा भएर यरूशलेममा शासन गरेको छु। 13 यस संसारमा जे गरिन्छ, तिनका जाँच र अध्ययन गर्ने सङ्कल्प मैले गरें। परमेश्वरले हामीलाई दु:खलाग्दो भाग्य दिनुभएको छ। 14 संसारमा गरिएका सबै काम मैले देखेको छु, ती सबै व्यर्थ हुन् भनी म भन्दछु। ती काम हावालाई खेदेको जस्तो मात्रै हो। 15 जे कुरा बाङ्गो छ, त्यसलाई तिमी सोझो बनाउन सक्दैनौ, जे कुरा छैन, त्यसको गन्ती हुन सक्दैन। 16 मैले आफैंलाई भनें, “म महान् व्यक्ति भएको छु। मेरो अघि यरूशलेमका सिंहासनमा राज्य गर्नेहरूभन्दा म धेरै बुद्धिमान् छु। बुद्धि र ज्ञान के हुन्, म बुझ्दछु।” 17 यसैले ज्ञान र मूर्खता अनि बुद्धि र पागलपनामा भएको भिन्नतालाई मैले बुझ्ने निश्चय गरें। तर मैले चाल पाएँ कि मैले त हावालाई पो खेदिरहेको रहेछु। 18 मानिसले जति धेरै बुद्धि पाउँछ, उत्ति फिक्री बढ्छ, जति धेरै ज्ञान पाउँछ, उति नै दु:ख पाउँछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society