Aanlyn Bybel

- Advertensies -

२ थेसलोनिकी 1 - सरल नेपाली पवित्र बाइबल

1 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टको थेसलोनिकामा भएको मण्‍डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्‍दै छौं।

2 तिमीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले अनुग्रह र शान्‍ति देऊन्।


ख्रीष्‍टले गर्नुहुने न्‍याय

3 दाजुभाइहरू, तिमीहरूको विश्‍वास धेरै बढेर गएको छ। प्रेम पनि एक-अर्कामा झन्-झन् बढ्दै छ। यसकारण तिमीहरूको बारेमा सधैँ हामीले परमेश्‍वरलाई धन्‍यवाद दिनैपर्दछ।

4 यस्‍तै तिमीहरूको सतावट र दु:ख सहने शक्ति र विश्‍वासको बारेमा हामी परमेश्‍वरको मण्‍डलीभित्र घमण्‍ड गरेर बोल्‍न सक्‍छौं।

5 यी सबै तिमीहरूलाई परमेश्‍वरको राज्‍यको योग्‍य ठहर्‍याउने परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ भन्‍ने प्रमाण हो। तिमीहरूले त्‍यही राज्‍यको कारण दु:ख पनि भोग्‍दै छौ।

6 परमेश्‍वर न्‍यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ।

7 दु:ख सहने तिमीहरू र हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। उहाँले प्रभु येशू शक्तिशाली दूतहरूसँग स्‍वर्गबाट आउनुहुँदा यी सब गर्नुहुनेछ।

8 अनि परमेश्‍वरलाई नमान्‍ने र हाम्रा प्रभु येशूको सुसमाचारलाई नटेर्नेहरूलाई आगोको ज्‍वालामा आएर उहाँले दण्ड दिनुहुनेछ।

9 तिनीहरूको सजायचाहिँ तिनीहरू प्रभुको शक्तिशाली उज्‍यालो र संगतिबाट निकालिनेछन् अनि सधैँभरिका लागि नाश गरिनेछन्।

10 यी कुरा प्रभु येशू आउनुहुने दिनमा हुन्‍छन्। त्‍यस दिन प्रभु येशूले आफ्‍ना पवित्र जनहरूबाट र सबै विश्‍वासीहरूबाट आदर र स्‍तुति पाउनुहुनेछ। तिमीहरू पनि तिनीहरूसँग हुन्‍छौ किनभने तिमीहरूले हाम्रो साक्षी पत्‍यायौ।

11 यसैकारण परमेश्‍वरले जुन जीवनको लागि तिमीहरू बोलाइएका छौ, त्‍यसको योग्‍य बनाउन र उहाँको शक्तिले राम्रो गर्ने इच्‍छा र विश्‍वासका काम पूरा गर्न सहायता गरून् भनी हामी प्रार्थना गर्छौं।

12 त्‍यसो भएमा तिमीहरूबाट हाम्रा प्रभु येशूको नाउँको आदर हुनेछ अनि उहाँबाट तिमीहरूको पनि आदर हुनेछ किनभने तिमीहरूले परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह पाएका छौ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Volg ons:



Advertensies