Aanlyn Bybel

- Advertensies -

सपन्याह 1 - नेपाली नयाँ संशोधित संस्करण

1 अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्‍याहका नाति, कूशीका छोरा सपन्‍याहकहाँ परमप्रभुको यो वचन आयो।


आउने सर्वनाशको चेताउनी

2 “पृथ्‍वीबाट म सबै थोक ध्‍वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

3 “मानिसहरू र पशुहरू दुवैलाई म ध्‍वंस पार्नेछु। आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्‍वंस पार्नेछु। म पृथ्‍वीबाट मानिस-जातिलाई नष्‍ट पार्नेछु, र दुष्‍टहरूका निम्‍ति ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।


यहूदाको विरुद्धमा

4 “म यहूदाको विरुद्धमा र यरूशलेममा बस्‍नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्‍ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु।

5 घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई,

6 परमप्रभुको पछि लाग्‍न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्‍ट पार्नेछु।

7 परमप्रभु परमेश्‍वरको सामु चूप लाग, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, र आफूले निम्‍त्‍याउनुभएका पाहुनाहरूलाई उहाँले पवित्र पार्नुभएको छ।

8 परमप्रभुको त्‍यस बलिदानको दिनमा म राजकुमारहरू, राजाका छोराहरू र विदेशी लुगा लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु।

9 त्‍यस दिन सँघारमा खुट्टाले नटेक्‍ने, र आफ्‍ना देवताहरूको मन्‍दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु।

10 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्‍तिर जानेछन्‌।

11 हे बजार भएको ठाउँमा बस्‍ने हो, चिच्‍च्‍याएर रोओ। तिमीहरूका सबै व्‍यापारीहरू खतम हुनेछन्, चाँदीका व्‍यापार गर्नेहरू सबै नष्‍ट हुनेछन्‌।

12 त्‍यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्‍नेछु, र ढुक्‍क भएर बस्‍नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्‍तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्‍छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।

13 तिनीहरूका धन-सम्‍पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्‍काइनेछन्‌। तिनीहरूले घर बनाउनेछन्‌ तर तिनमा बस्‍न पाउनेछैनन्‌। तिनीहरूले दाखबारी लगाउनेछन्‌ तर त्‍यसको दाखमद्य पिउन पाउनेछैनन्‌।


परमप्रभुको महादिन

14 “परमप्रभुको महादिन नजिकै छ, र त्‍यो चाँड़ै आउँदैछ। ध्‍यानसित सुन। परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्‍यहाँ योद्धाको चिच्‍च्‍याई ठूलो हुनेछ।

15 त्‍यो दिन क्रोधको दिन हुनेछ, विपत्‌ र वेदनाका दिन, कष्‍ट र सर्वनाशको दिन, अँध्‍यारो र विरक्तको दिन, बादल र घोर अन्‍धकारको दिन,

16 किल्‍ला भएका सहरहरू र कुनाका धरहराहरूका विरुद्धमा तुरही र लड़ाइँको सोरको दिन।

17 म मानिसहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, र तिनीहरू अन्‍धा मानिसहरूझैँ हिँड्‌नेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्‌। तिनीहरूको रगत धूलोसरि र तिनीहरूका आन्‍द्रा-भुँड़ीहरू फोहोरसरि फ्‍याँकिनेछन्‌।

18 परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्‍म पारिनेछ, किनकि पृथ्‍वीमा बस्‍नेहरू सबैलाई उहाँले अचानक भस्‍म पार्नुहुनेछ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Volg ons:



Advertensies