फिलेमोन 1 - नेपाली नयाँ संशोधित संस्करण1 ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, 2 हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस, र तिम्रो घरका मण्डलीलाई: 3 तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट शान्ति! धन्यवाद ज्ञापन र प्रार्थना 4 मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, 5 किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। 6 म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। 7 मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। ओनेसिमसको निम्ति पावलको बिन्ती 8 तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्टमा मलाई साहस भए तापनि, 9 प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्ट येशूको एक कैदी 10 मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। 11 तिनी अगाडि तिम्रो निम्ति बेकम्मा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। 12 म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। 13 तिनलाई मसँगै राख्न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्तथिए, 14 तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वइच्छाले गरिएको होस्। 15 शायद तिमीबाट केही समयको निम्ति तिनी अलग्ग भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकून्— 16 अब उसो कमाराजस्तो होइन, तर कमाराभन्दा बढ़ी, प्रिय भाइजस्तै, विशेष गरी मेरो निम्ति, तर झन् बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्ति। 17 यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। 18 यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन् भने, सो मेरो हिसाबमा राखिदेऊ। 19 म पावल, आफ्नै हातले यो लेख्तछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। 20 प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। 21 तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्दा झन् बढ़ी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु। 22 साथै मेरो निम्ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। 23 येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। 24 त्यसै गरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि। 25 प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society