योनाको पुस्तक 1 - नेपाली नयाँ संशोधित संस्करणयोना परमप्रभुबाट भागेका 1 परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो: 2 “त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।” 3 तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े। 4 तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो। 5 सबै नावीकहरू डराए, र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्लो तलामा गएका थिए, र त्यहाँ तिनी भुसुक्क निदाए। 6 जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।” 7 तब नावीकहरूले आपसमा भन्न लागे, “आओ, यस आपत्तिको जिम्मावार को रहेछ, सो जान्नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्यो। 8 तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत् ल्याउन को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?” 9 तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” 10 यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्नेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो।) 11 समुद्रका छालहरू झन्-झन् प्रचण्ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्ति शान्त होला?” 12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।” 13 तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्-झन् खराब हुँदैगयो। 14 यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ।” 15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्त भइहाल्यो। 16 यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने, र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे। 17 तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society